एक महिनादेखि सम्पर्कविहीन असई युवतीसहित मृत भेटिए

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई पाँचखालस्थित सामुदायिक वनमा युवतीसहित झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बलको १५ नम्बर गण, पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ को ठुली सामुदायिक वनभित्र रहेको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार दुवै जनाले सलको पासो प्रयोग गरी एउटै रुखमा झुण्डिएको अवस्थामा ज्यान गुमाएको देखिएको छ। शव लामो समयदेखि जंगलमै रहेको अनुमान गरिएको छ। अत्यधिक सडेको अवस्थामा भेटिएकाले शरीरका केही भाग झरेका थिए भने टाउको मात्र झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले घटनास्थलबाट बरामद भएका कपडा, कागजात तथा अन्य सामग्रीका आधारमा प्रारम्भिक पहिचान गरिएको बताए। त्यसपछि परिवारका सदस्य र आफन्तमार्फत सनाखत गर्दा मृतकहरू शक्ति राम र शर्मिला चौधरी रहेको पुष्टि भएको उनले जनाएका छन् ।

असई शक्ति राम वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा थिए। त्यसैगरी शर्मिला चौधरी वैशाख १८ गते काभ्रेमा रहेका शक्ति रामलाई भेट्न जाने भन्दै घरबाट हिँडेकी थिइन्। त्यसयता दुवैजना परिवार र आफन्तको सम्पर्कमा आएका थिएनन्।

शक्ति रामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बलको १५ नम्बर गणमा खोजतलासका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा बेपत्ता भएको जानकारी गराउँदै खोजीका लागि निवेदन दिएका थिए।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बिष्टले  बताएका छन् ।