काभ्रेमा जुवातास खेल्ने ८ र यौन क्रियाकलापमा संलग्न ३ पक्राउ

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जुवा–तास खेल्ने तथा यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति साँझ ८ः०० बजे बनेपा नगरपालिका–९, बेथिसाइट नजिकस्थित फर्निचर बनाउने टहरामा जुवा–तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट नगद १ लाख २२ हजार ६५४ रुपैयाँ र तास २७ बुक्सहित बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, साँझ पौने ७ बजे बनेपा नगरपालिका–८ पुलबजारस्थित होटल हाम्रो खाजा घरमा अवैध यौन क्रियाकलाप भइरहेको भन्ने सूचनाका आधारमा सो स्थानमा छापा मार्दा ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर थप कारबाही अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन बिष्टले बताए ।

जुवा, तास र यौनजन्य गतिविधि समाजमा विकृति फैलाउने कार्य भएकाले यस किसिमका अनैतिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीको कडा निगरानी र कार्वाही गर्ने प्रहरीको भनाइ छ ।