मण्डनदेउपुरमा ट्रिपर दुर्घटना : चालकको जलेर गयो ज्यान, सहचालक गम्भीर घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी भिरमा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ५ ख ४०७२ नम्बरको ट्रिपर शनिबार बिहान करिब ४ः३० बजे सडकबाट करिब ६० मिटर तल खस्दा आगलागी भएको थियो। ट्रिपर भिरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मण्डनदेउपुर–७ झगारपुरका २८ वर्षीय किसिम राईको मृत्यु भएको हो। उनी स्टेरिङ मुनि हात र टाउको झ्यालबाट देखिने गरी जलेर मृत्यु भएको अवस्थामा फेला परेका थिए।

त्यस्तै, २२ वर्षीय सहचालक बिक्रम राई गम्भीर घाइते अवस्थामा फेला परेका छन्। उनको शरीरका विभिन्न भाग जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते राईलाई प्रारम्भिक उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएपछि थप उपचारका लागि किर्तिपुर बर्न अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।