ललितपुर । ललितपुर महानगरपालिकाको उपप्रमुख मञ्जली शाक्यले संस्कृति संरक्षणका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय संवत् ११४६ को अवसरमा ताम्राकार समाजले आज शनिबार उग्रचण्डी मन्दिर परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख मन्जलीले नेपाल संवतले सम्पूर्ण नेपालीहरुलाई एकतामा बाँध्दै समृद्धि हासिल गर्न सहयोग पुर्याउने प्रष्ट पारिन् ।
“संस्कृति सम्पदा संरक्षणमा पर्याप्त ध्यान पुर्याउनुपर्ने उनले आवश्यकता औल्याएकी छन् । हाम्रो परम्पराको संरक्षण गर्न हामीले नै ध्यान दिनुपर्छ” उनले भनिन्, “हामीले सचेत र एकताबद्ध भएर नेपाललाई विश्वमा चिनाउन आवश्यक छ।”
ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ललितपुरको कला, संस्कृति र सभ्यतालाई जीवन्त राख्न देशका विभिन्न ठाउँबाट यहाँ बसोवास गर्न आएका मानिहरुलाई पनि समाहित गराएर यहाँको कला, संस्कृति र सभ्यताको ज्ञान, सीप र क्षमताको हस्तान्तरण गर्न सक्नुपर्नेमा जोड दिए।
नेपाल संवत् राष्ट्रिय न्हुदँ समारोह समिति ११४६ को अध्यक्ष प्रेमहिरा तुलाधरले नेपाल सम्वतलाई देश कामकाजी भाषाको रुपमा मान्यता दिनु खुसी र गौरवको बिषय भएको बताउँदै यो संवत् सम्पूर्ण नेपालीहरुको आफ्नै मौलिक संवत् भएको बताए।







