
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय आर्थिक बहसका क्रममा मुलुकको अर्थतन्त्र पुनःजागरणको अवस्थामा रहेको उल्लेख गर्दै निजी क्षेत्रको सुरक्षामा राज्यको जिम्मेवारी बढेको बताएका छन् ।
प्रधानमन्त्री शुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाललगायतको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै ढकालले भने,
“मुलुक अहिले आशा र संशयको दोबाटोमा छ, सरकार सुशासन र पारदर्शिताका प्रयासमा लाग्दैछ, तर निजी क्षेत्र आहत बनेको छ ।”
उनले हालका आन्दोलन र प्रदर्शनमा निजी व्यवसायमाथि भएको आगजनी, लुटपाट र तोडफोडप्रति चिन्ता व्यक्त गर्दै भने,
“व्यवसायीका शयनकक्षसम्म लुटपाट भयो, यस्तो घटनामाथि कडा कारवाही नहुँदा दण्डहीनता मौलाउँदै गएको छ ।”
ढकालका अनुसार नेपालको कुल अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत, रोजगारीमा ८६ प्रतिशत र आयकरमा ८० प्रतिशतभन्दा बढी छ । “राजश्व बुझाउने, रोजगारी सिर्जना गर्ने, लगानी बढाउने यो क्षेत्रलाई अपराधीकरण गर्नु गलत हो,” उनले जोड दिए ।
महासंघ अध्यक्ष ढकालले हालका आन्दोलनका कारण करिब ४८ अर्ब रुपैयाँको भौतिक क्षति र ८८ अर्ब बराबरको कुल नोक्सानी भएको उल्लेख गर्दै सरकारसँग तत्काल राहत र पुनर्निर्माणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।
उनले सरकारलाई निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धनका लागि मन्त्रीपरिषद्बाट विशेष प्रस्ताव पारित गर्न माग गर्दै भने,
“निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने गरी आवश्यक सुरक्षा र द्रुत सेवा सुनिश्चित गर्नुपर्छ।”
कार्यक्रममा ढकालले सुशासन संयन्त्रमा निजी क्षेत्रको सहभागिता, व्यवसाय दर्ता र कर प्रणाली सरलीकरण, युवा उद्यमशीलता विकास कार्यक्रम, र पूर्वाधार निर्माणमा तिव्रता जस्ता विषयमा जोड दिए ।
अन्त्यमा उनले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “निजी क्षेत्र राष्ट्रको फल दिने वृक्ष हो, त्यसैले यसलाई मलजल र संरक्षण गर्न सकेमात्र देश समृद्ध बन्न सक्छ।”
कार्यक्रममा प्रधानमन्त्री कार्कीले निजी क्षेत्रका सुझाव र चिन्तालाई सम्बोधन गर्दै सरकार आर्थिक स्थायित्व र लगानी अनुकूल वातावरण बनाउन प्रतिबद्ध रहेको बताइन ।





