दीगो विकासका लागि इएसजी अनिवार्य : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वातावरणीय र सामाजिक पक्ष तथा सुशासन (ईएसजी) दिगो विकासका लागि अनिवार्य तत्व भएको बताएका छन्।

महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले इएसजी अब केवल ट्रेन्ड नभई व्यवसायको दिगो विकासतर्फको अनिवार्य बाटो भएको स्पष्ट पारे।

“नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि इएसजी नयाँ अवसरको ढोका खोल्ने माध्यम हो,” उनले भने।

उनका अनुसार वर्तमान समयमा इएसजी मापदण्डप्रति सचेतना बढ्दै गएको छ, जुन व्यवसायका लागि जोखिम व्यवस्थापनमा अत्यन्तै आवश्यक छ। नेपालमा सुरु भएको इएसजीसम्बन्धी परियोजनाले नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउन सहयोग गर्ने उनले बताए।

अध्यक्ष ढकालले महासंघले हालसम्म छुट्टाछुट्टै ढंगले वातावरणीय स्थायित्व, सामाजिक उत्तरदायित्व र सुशासनका क्षेत्रमा काम गर्दै आए पनि अब यी तीनवटै पक्षलाई एकीकृत रूपमा अघि बढाउने योजना बनाएको जानकारी दिए।

उनले नेपाल राष्ट्र बैंकले ल्याएको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै भने, “सरकारले ३० भन्दा बढी कानुनमा गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।”

कार्यशालामा सहभागीहरूलाई सर्वेक्षणमार्फत इएसजीसम्बन्धी आवश्यक तालिम तथा क्षमता विकास कार्यक्रमहरूको पहिचान गरिने जानकारी पनि दिइयो।

महासंघले कोशी प्रदेशमा समेत यस्तै कार्यशाला आयोजना गरिसकेको छ। वातावरण, समाज र सुशासनका विषयलाई समग्र रूपमा एकीकृत गर्दै अगाडि बढ्न सरोकारवाला निकाय, निजी क्षेत्रका प्रतिनिधि, नीति निर्माता तथा अन्तर्राष्ट्रिय साझेदारहरूले कार्यशालामा जोड दिएका थिए।