भक्तपुरको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, सम्पदादेखि आत्मनिर्भरता र सुशासनसम्म यस्ता योजना

भक्तपुर । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शुक्रबार बिहान बसेको १८ औं नगर सभामा नगर प्रमुख सुनिल प्रजापतिले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

नीति तथा कार्यक्रमले समावेशी र सर्वाङ्गीण विकासको खाका प्रस्तुत गरेको छ। प्रमुख सुनिल प्रजापतिले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि, पर्यटन, वातावरण, सहकारी, सुशासन लगायतका १२ मुख्य क्षेत्रका १२२ वटा विस्तृत योजनाहरू समावेश छन्।

शिक्षा क्षेत्रमा अभूतपूर्व लगानी

शिक्षामा भक्तपुरको लगानी यसपटक पनि प्रमुख प्राथमिकतामा परेको छ। नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, बहुप्राविधिक संस्थान र अन्य शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा सस्तो शुल्कमा उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ। अनुसन्धान केन्द्र स्थापना, शैक्षिक ऋण र छात्रवृत्ति विस्तार, स्काउट तालिम, आत्मरक्षा तालिम, कानुनी शिक्षा, इन्टर्नसिपजस्ता कार्यक्रम शिक्षालाई व्यवहारिक बनाउने लक्ष्य लिएका छन्।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार र सेवा विस्तार

१ सय शैय्याको ख्वप अस्पतालबाट ७४ जिल्लाका बिरामीहरूलाई सेवा दिइरहेको जानकारी दिँदै अस्पतालमा सीटी स्क्यान र डायलासिस सेवा सुरु गरिने, बालबालिकाका लागि आँखा, दाँत, नाक-कान-घाँटी परीक्षण नियमित हुने, स्वास्थ्य बीमा, निःशुल्क अक्सिजन तथा रगत, घरदैलो नर्सिङ, आयुर्वेद तथा विकल्पीय उपचार विस्तारजस्ता सेवा अगाडि बढाइने बताइएको छ।

सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धन

भक्तपुरको ऐतिहासिक पहिचानलाई मजबुत बनाउन सम्पदा पुनःनिर्माण, भजन र बाजाको लिपिबद्धता, QR कोडयुक्त जानकारी प्रणाली, दरबार क्षेत्रका ९९ चोकहरूको अध्ययन अनुसन्धान, सांस्कृतिक गुरु नियुक्ति, स्कुल तहदेखि नै सम्पदा सरसफाइ कार्यक्रमलगायत योजना अघि बढाइने भएको छ।

कृषिमा आत्मनिर्भरता र जैविकता

नगरले कृषि अनुसन्धान केन्द्र, आधुनिक वधशाला, चिस्यान केन्द्र, जैविक मल/विषादी प्रयोग, रैथाने बाली संरक्षण, कृषक ऋण, कृषि बजार व्यवस्थापन र कौसी खेतीका तालिमहरूलाई अघि बढाउने योजना अघि सारेको छ।

पर्यटन प्रवर्द्धनका ८ प्रमुख कार्यक्रम

भक्तपुरलाई विश्वस्तरीय गन्तव्य बनाउने लक्ष्यसहित सन्ध्याकालीन पदयात्रा, कोसेलीघर, सांस्कृतिक कार्यक्रम, विद्युतीय सवारी, पर्यटन सूचना केन्द्र, साँस्कृतिक प्रदर्शनी र सम्पदाको अभिलेखीकरणजस्ता कार्यक्रम अघि बढाइनेछ।

विकास निर्माण : संरचनागत विस्तार

अरनिको सभाभवन, बहुउद्देश्यीय भवन, पार्किङ, स्वास्थ्य केन्द्र, सडक, नाला, सम्पदा पुनःनिर्माण र औद्योगिक ग्राम विकास जस्ता योजनाहरू सार्वजनिक गरिएको छ। लिबाली, तुमचो दुगुरे र छालिङ क्षेत्रमा कर्पिडोर सडक विस्तार योजनामा पनि तीव्रता दिइनेछ।

युवा, खेलकुद र सीप विकासमा विशेष जोड

खेलमैदान, आत्मरक्षा तालिम, पौडी तालिम, सीपमूलक तालिम, उद्यमशीलता ऋण, स्कुलस्तरमा खेल तालिम, छिकोङ व्यायाम, स्वास्थ्य बीमा, अन्तर वडा र अन्तर नगर खेलकुद प्रतियोगिता नियमित गरिनेछ।

सहकारी, वातावरण र सुशासन

डिजिटल सहकारी, प्लास्टिक न्यूनीकरण, पोखरी सौन्दर्यीकरण, सवारी निषेध क्षेत्र, कर संकलन सुधार, कर्मचारी दक्षता तालिम, सीसी क्यामेरा, फ्री वाइफाइ, नक्सा पास अनलाइनजस्ता कार्यक्रम नगरलाई प्रविधिमैत्री र उत्तरदायी बनाउने उद्देश्य राखिएको छ।

विशेष कार्यक्रमहरू

अपराध न्यूनीकरणका लागि निगरानी, औद्योगिक क्षेत्र स्थानान्तरण, घरेलु उत्पादन प्रवर्द्धन, लागुपदार्थ नियन्त्रण, अपाङ्गता तथा बालबालिकाको विशेष हेरचाह, श्रम सम्मान नीति, पेपर रिसाइकल उद्योग सञ्चालनलगायत कार्यक्रम उल्लेखनीय छन्।

नगर प्रमुख सुनिल प्रजापतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, “संविधानले दिएको अधिकार प्रयोग गर्दै भक्तपुरलाई सम्पूर्ण क्षेत्रमा आत्मनिर्भर, संस्कृतिक र नमुना नगर बनाउने हाम्रो लक्ष्य हो।”

सभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई छिट्टै पारित हुने बिश्वास व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले यसको सफल र प्रभावकारी कार्यान्वयनमा नगरपालिका  पूर्ण प्रतिबद्ध रहने प्रष्ट पारेका छन् ।

Bhaktapur nagar sabha
Bhaktapur nagar sabha