
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार नेपाल सम्वत् ११४६ र दिपावलीको अवसरमा सामुदायिक विद्यालयका शिक्षकबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले जनतालाई प्राथमिकता दिँदै समाजवादी व्यवस्था र समाज उत्थानका लागि भक्तपुर नगरपालिका अनुकरणीय रूपमा सेवा सञ्चालन गरिरहेको बताइन्।
उनले विदेशी हस्तक्षेप र घुसपैठप्रति सचेत रहन इतिहास, भूगोल र संस्कृतिको अध्ययन अनिवार्य भएको उल्लेख गरिन्।
जोशीले गैरसरकारी संस्थाको सहयोग विना नै पुर्खाको सम्पत्ति संरक्षण र व्यवस्थापनबाट भक्तपुर नगरपालिका आत्मनिर्भर बनेको बताउँदै संविधान र सिद्धान्तको सही पालनामा सरकार र राजनीतिक दल असफल भएको टिप्पणी गरिन्।
“विद्यार्थीलाई असल र योग्य नागरिक बनाउने र विदेशी भरपर्दैन भन्ने शिक्षा दिनु शिक्षकको दायित्व हो,” उनले भनिन्। उपप्रमुखका अनुसार भक्तपुर नगरपालिकाले जनताको छोराछोरीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति र शैक्षिक ऋणको व्यवस्था गर्दै आएको छ।
कार्यक्रमका सभापति तथा वडा अध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयस्तरका अध्ययन-अध्यापन र अतिरिक्त क्रियाकलापमा देखिएका समस्या समाधानका लागि सहकार्य र छलफल जारी रहेको बताए।
वडा शिक्षा समितिका सदस्य तथा सन्तति आवि प्रअ दीपक माकले चाडपर्वले शरीर र समाजमा नयाँ ऊर्जा ल्याउने भन्दै तिनलाई बौद्धिक रूपान्तरण गर्नुपर्ने धारणा राखे।
उनले शिक्षालाई बजारको वस्तुजस्तो बनाइएको र विदेशी अनुदानका शर्तले शिक्षामा बाह्य प्रभाव बढाएको जनाउँदै शिक्षकको हैसियत कमजोर बनाइँदै गएको बताएका थिए।
कार्यक्रममा उदय आवि व्यवस्थापन समितिका अध्यक्ष राजन कोजू, समाजसेवी कृष्णबहादुर दुगुजु र लक्ष्मीसुन्दर सुवाललगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा वडा नं १ स्थित चार सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता थियो।








