निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार शंखमुलस्थित यल दरबारमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जनकुमार श्रेष्ठले निजी क्षेत्रमाथि व्यक्ति–केन्द्रित प्रहार हुनु चिन्ताजनक भएको बताए।
उनका अनुसार, “देशमा लगानीको सुरक्षा र व्यवसायिक वातावरणको सुनिश्चितता आवश्यक छ। कानुनी राज्य, शान्ति र स्थायित्वका लागि निजी क्षेत्र र सरकारबीच संवाद बढाउनुपर्छ।”

श्रेष्ठले नेपाली समाजमा नाफा कमाउनु अपराधजस्तो ठान्ने मानसिकता परिवर्तन गर्नुपर्ने बताए। “जायज नाफा गर्नु अपराध होइन,” उनले भने, “यस सोचमा सुधार नगरेसम्म उद्यमशीलता फस्टाउन सक्दैन।”

उनका अनुसार देशको शिक्षाले रोजगारी खोज्ने मात्र बनाएको छ, तर रोजगारी सिर्जना गर्ने क्षमता विकास गर्न सकेको छैन। “नागरिकले रोजगारीको खोजीमा विदेशिन नपर्ने अवस्था बनाउनुपर्छ। सरकारले अवसर सिर्जना गरोस्, निजी क्षेत्रले रोजगार दिन सकोस्,” उनले जोड दिए।
उनले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याउने निजी क्षेत्रलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।

श्रेष्ठले थपे, “सरकारले उद्योग व्यापार गर्न होइन, नियमन र संरक्षण गर्नुपर्छ। निजी क्षेत्रले गर्ने काम किफायती र प्रभावकारी हुन्छ।”

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुरलाई हस्तकला र व्यवसायको केन्द्रका रूपमा स्थापित गर्न महानगर प्रतिबद्ध रहेको बताइन्। उनले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलता प्रवर्द्धनमार्फत समृद्ध ललितपुर निर्माण गर्नुपर्नेमा जोड दिइन्।

संघका अध्यक्ष विश्वराज बज्राचार्यले उद्योगी–व्यवसायीको हकहितका लागि संगठन सशक्त रूपमा क्रियाशील रहने बताए।