काठमाडौं । आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथा सङ्ग्रह ‘तेल भिसा’, कवितासङ्ग्रह ‘सम्बन्धको चुकुल’ र उनको सम्पादन रहेको ‘सर्जक गणेश रसिक स्मृति अंक–नारीस्वर’ शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको छ।
कार्यक्रमको आयोजना साहित्यिक पत्रकार संघ नेपालले गरेको थियो भने संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
मुख्य अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्रा. डा. गङ्गाप्रसाद उप्रेती उपस्थित रहेका थिए।
लोकार्पण समारोहमा प्रा. डा. गोविन्दमानसिंह कार्की, उप–प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र कवि शैलेन्द्र साकारले प्रस्तुत कृतिहरूमाथि विशद चर्चा गरेका थिए।
तीन कृतिहरू एकसाथ सार्वजनिक
मञ्चमा उपस्थित अतिथिहरूले पालैपालो तेल भिसा, सम्बन्धको चुकुल र सर्जक गणेश रसिक स्मृति अंकको लोकार्पण गरे।
मुख्य अतिथि उप्रेतीले ८० वर्षको उमेरमा पनि पाठकले निरन्तर लेखनमा सक्रिय रहनु प्रशंसनीय रहेको बताए।
उनले पाठकको साहित्यिक यात्रामा सुपुत्री नम्रता शर्माको योगदान उल्लेखनीय रहेको पनि चर्चा गरे।
कवि शैलेन्द्र साकारले गणेश रसिक आफ्नो गाउँले साथी भएको उल्लेख गर्दै, रसिकले भोजपुरको लोकलयलाई गीत–संगीतमार्फत राष्ट्रिय पहिचान दिलाएको बताए।
लघुकथामा समाजका यथार्थ
प्रा. डा. गोविन्दमानसिंह कार्कीले *‘तेल भिसा’*का कथाहरू सरल भाषामा लेखिए पनि गहिरो सामाजिक सन्देश दिने खालका रहेको टिप्पणी गरे।
कथाहरूमा कोभिड महामारीका पीडा, विदेशमा रहेका सन्तानका दु:खद अनुभव, पशुबलीको विरोध, बालबालिकाको संवेदनशील दृष्टि, र महिला अधिकारका प्रश्नजस्ता विषय उठाइएको बताए।
उनका अनुसार पाठकका कथाहरूमा मनोवैज्ञानिक पक्ष र सामाजिक विसङ्गतिप्रति तीक्ष्ण दृष्टि प्रकट भएको छ।
कवितामा प्रेम, राष्ट्र र सम्बन्ध
उप–प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले ‘सम्बन्धको चुकुल’ कवितासङ्ग्रहबारे चर्चा गर्दै पाठकका कविताहरू आलंकारिक भए पनि सहज र सम्प्रेषणीय रहेको बताए।
थोरै शब्दमा धेरै अर्थ बोकेका ती कविताहरूमा राष्ट्र, राष्ट्रियता, पारिवारिक सम्बन्ध, प्रेम र समयको यथार्थता प्रस्ट अभिव्यक्त भएको बताए।
अतिथिहरूका भनाइ
कार्यक्रमका सभापति राधेश्याम लेकालीले स्वागत मन्तव्यका क्रममा जेन–जि आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, अहिलेको समयमा शोकभन्दा निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेले पाठकका कविताहरू स्वच्छ नदी जस्तै सरल, सरस र विवादरहित रहेको उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै पत्रकार नम्रता शर्माले आफ्नी आमा हिरण्यकुमारी पाठकको साहित्यिक यात्राको समीक्षा गर्दै उपस्थित सबैप्रति आभार व्यक्त गरिन्।
विशिष्ट सहभागिता
कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी., गीतकार एवं समाजसेवी शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ लगायत भागिरथी श्रेष्ठ, ज्ञानु पाण्डे, मातृका पोखरेल, हेम पाठक, विमल भौकाजी, मणि लोहनी, प्रद्युम्न जोशी, सावित्री श्रेष्ठ, डा. शान्तिमाया गिरी, तारा के.सी. लगायतका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न भएको थियो भने कवि यादव भट्टराईले सहजीकरण तथा सञ्चालन गरेका थिए।







