काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीको विषयमा वडाध्यक्षहरूले कडा आपत्ति जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले महानगरले विपद् बेलामा आवश्यक प्रतिक्रिया दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
सो आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको भन्दै वडाध्यक्षहरूले प्रश्न उठाएका थिए। तर, महानगरको विपद् व्यवस्थापन समितिले त्यसको प्रतिवाद गरेको छ।
बैठकमा भदौ २३ र २४ गतेका घटनाबारे छलफल गर्ने कुनै एजेन्डा नसमेटिएको विषयले पनि विवाद निम्त्यायो। यसबारे वडाध्यक्षहरू आक्रोशित बनेका थिए।
वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडाले दुःख व्यक्त गर्दै भने, “देशमा यत्रो घटना भयो, तर बैठकमा कुनै एजेन्डा छैन।” मृतकलाई श्रद्धाञ्जली भन्न विध्वंसको भर्त्सना गर्न नसक्नु दुःखद् भएको उनको भनाइ छ । “यत्रो सम्पदा ध्वस्त गरिएकोप्रति हामीले आपत्ति जनाउनुपर्छ कि पर्दैन?” उनले प्रश्न गरे ।
उनको यस भनाइले बैठकमा उपस्थित अन्य वडाध्यक्षहरूबाट समेत समर्थन पायो। उनीहरूका अनुसार, महानगरले ऐतिहासिक सम्पदा र जनसुरक्षासँग जोडिएका घटनामा संवेदनशीलता देखाउन आवश्यक छ।
भदौ २४ गते भएको आगजनीले काठमाडौंको ऐतिहासिक सम्पदालाई ठूलो क्षति पुर्याएको थियो। तर त्यसबारे औपचारिक चर्चा नै नगरिएको भन्दै वडाध्यक्षहरूले महानगरको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन्।






