काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत प्रभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलका “स्लिपर सेल”का रूपमा प्रयोग हुँदा प्रणालीप्रति जनविश्वास कमजोर बन्दै गएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको प्रभाव बढ्दा शिक्षा र प्रशासन दुवै क्षेत्र प्रभावित भएको उल्लेख गरे। “अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता हुनुपर्छ,” उनले भने।
सरकारले शिक्षालयमा दलका झण्डा तथा कर्मचारीतन्त्रमा दलगत संलग्नता निषेध गर्ने निर्णय लिएको जानकारी दिँदै उनले यो कदमले अधिकार नखोस्ने, बरु पेशागत स्वतन्त्रता सुदृढ बनाउने दाबी गरे।
उनका अनुसार विद्यार्थीले राजनीति सिक्नैपर्छ, तर त्यो सभ्य, विचारशील र जिम्मेवार हुनुपर्छ। “विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भीडबाट होइन,” उनले भने। त्यस्तै, कर्मचारीतन्त्रले कुनै दलको होइन, जनताको सेवा गर्नुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री शाहले यो अभियान कुनै दलविरुद्ध नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने उद्देश्यले अघि बढाइएको स्पष्ट पारे। “देशलाई दलगत कब्जाबाट मुक्त गरी संस्थागत मार्गमा लैजानु हाम्रो लक्ष्य हो,” उनले भने।
सरकारले अध्यादेशमार्फत शिक्षालय र कर्मचारीतन्त्रमा देखिएका विकृतिहरू हटाउने प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै उनले सबै सरोकारवालाको साथ र विश्वास आवश्यक रहेको बताए।
“परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” उनले भने, “हामी जनचाहनाअनुसार काम गर्न सरकारमा आएका हौं र हाम्रा सबै निर्णय जनहितमै केन्द्रित हुनेछन्।”






