काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुने तथा पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्।
मंगलबार राति साढे ११ बजे सामाजिक सञ्जाल मार्फत सार्वजनिक सन्देश जारी गर्दै शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यस देशको नागरिकका रूपमा पनि सुनसरीमा भएका घटनाक्रमबाट दुःखी भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
शाहले सुनसरीमा भएको सामान्य घटनाप्रतिको आक्रोशले ज्यान गुम्ने अवस्था सिर्जना हुनु र समाजमा एकअर्काप्रति डर तथा अविश्वास बढ्नु दुःखद रहेको उल्लेख गरेका छन्। मानवतामा विश्वास गर्ने कसैले पनि यस्तो अवस्था नचाहने भए पनि घटनाक्रम अशान्त बनेको उनको भनाइ छ।
उनले सरकारले पीडित परिवारको पीडा महसुस गरेको उल्लेख गर्दै सक्दो छिटो न्याय र क्षतिपूर्ति उपलब्ध गराइने तथा यस्ता घटना दोहोरिन नदिन दोषीलाई कानुनअनुसार कारबाही गरिने विश्वास दिलाएका छन्।
शाहले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु कुनै पनि हालतमा सामान्य विषय नभएको स्पष्ट पार्दै घटनाको अनुसन्धान सुरु भइसकेको र त्यसका आधारमा कानुनबमोजिम कारबाही हुने बताएका छन्। सरकारले घटनाको सुरुदेखि नै आफ्नो उपस्थिति देखाएको भए पनि ती प्रयास पर्याप्त हुन नसकेको स्वीकार गर्दै घटनाको समग्र समीक्षा गरी पुनः यस्तो घटना हुन नदिन आवश्यक र जिम्मेवार निर्णय गरिने बताएका छन्।
उनले मृतकका परिवार, घाइते तथा उनीहरूका परिवारलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी छिटो परिणाम दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाहले नागरिकलाई आक्रोश, प्रतिशोध र उत्तेजनाबाट टाढा रहन आग्रह गर्दै धर्मले पनि संयम र मानवताको शिक्षा दिने बताएका छन्।
“मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो, सरकारको पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित राख्दै कसुरदारलाई कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति दिलाउनु भएको भन्दै उनले सबैलाई संयमित रहन, उत्तेजना फैलाउने गतिविधिमा संलग्न नहुन तथा प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
हेर्नुस् प्रधानमन्त्री शाहको सन्देश
नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए ।
प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ । तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यहि हो ।
मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।
फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।
प्रधानमन्त्री बालेन्द्र शाहको यो अभिव्यक्ति समेटी समाचार ब






