बञ्चरेडाँडामा अवरोध,घरको फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीबासीलाई घरको फोहोर तत्काल बाहिर ननिकाल्न आग्रह गरेको छ। बञ्चरेडाँडा फोहोर व्यवस्थापन केन्द्रमा फोहोर बिसर्जनमा समस्या उत्पन्न भएपछि महानगरले सूचना जारी गर्दै अस्थायी रूपमा घरमै फोहोर सुरक्षित रूपमा राख्न अनुरोध गरेको हो।

महानगरका अनुसार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयवासीले फोहोर व्यवस्थापनका कार्यमा अवरोध गरेपछि पछिल्ला केही दिनदेखि फोहोर संकलन र ढुवानी कार्य प्रभावित भएको छ। त्यस कारण काठमाडौं उपत्यकाभित्र संकलित फोहोर हाल व्यवस्थापन गर्न नसकिने अवस्था आएको हो।

महानगरले नागरिकलाई घरभित्रै फोहोरलाई छुट्ट्याएर, सकेसम्म कम्पोस्ट वा पुनः प्रयोग गर्न सकिने वस्तुहरूलाई अलग राख्न आग्रह गरेको छ। “फोहोरलाई सडकमा वा सार्वजनिक स्थानमा राख्दा दुर्गन्ध र स्वास्थ्यसम्बन्धी जोखिम बढ्ने भएकाले घरभित्रै अस्थायी रूपमा सुरक्षित राख्न अनुरोध गरिएको हो,” विज्ञप्तिमा भनिएको छ।

बञ्चरेडाँडा साइटमा लामो समयदेखि फोहोर व्यवस्थापनसम्बन्धी विवाद भइरहेका कारण उपत्यकामा समय–समयमा यस्तै समस्या दोहोरिँदै आएको छ। यसअघि पनि स्थानीयले क्षतिपूर्ति, स्वास्थ्य सेवा र पूर्वाधारका माग गर्दै पटक–पटक फोहोर गाडी रोक्ने गरेका थिए।महानगरले सम्बन्धित निकायसँग सहमति जुटाउने प्रयास भइरहेको बताएको छ। सहमति भएसँगै फोहोर संकलन पुनः सुचारु गरिने जनाइएको छ। महानगरले महानगरबासीलाई असहज नमान्न र वातावरणीय सरसफाइमा सहयोग पुर्‍याउन पनि अपिल गरेको छ।