अमेरिकी सहयोगमा येंगा हिटी पुनर्निर्माण सम्पन्न, ४० वर्षपछि पुनः बग्यो पानी

येंगा हिटी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१, स्थायी येंगालस्थित १४औँ शताब्दीमा निर्माण भएको ऐतिहासिक येंगा हिटीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।

अमेरिकी राजदूतावास अन्तर्गतको सांस्कृतिक संरक्षण कोष (AFCP) को अनुदान तथा येंगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्त्व विभाग, स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा यो जिर्णोद्धार सम्पन्न गरिएको हो।

शनिबार आयोजित विशेष समारोहबीच अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्स, काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायतका अतिथिहरूले संयुक्तरूपमा पुनर्निर्माण गरिएको येंगा हिटीको उद्घाटन गरेका छन् ।

येंगा हिटी

राजदूत मिक्सले परियोजनाले नेपालको सांस्कृतिक सम्पदाको दीगो संरक्षण, पर्यटन क्षेत्रको प्रवर्द्धन तथा दुवै देशबीचको साझेदारी सुदृढ गर्ने अमेरिकाको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताए।

उनले भने, “येंगा हिटीको पुनर्निर्माण केवल एक सम्पदा स्थलको मर्मत मात्र होइन, १५ सय वर्षदेखि समुदायलाई सेवा गर्दै आएको जीवन्त जलस्रोत प्रणालीको पुनर्जीवन पनि हो।”

४० वर्षपछि पुनः बग्यो पानी

झन्डै तीन वर्ष लामो पुनर्निर्माणपछि येंगा हिटीका तीनै ढुंगेधारामा ४० वर्षपछि पुनः पानी बग्न थालेको छ। यो कार्य ‘काठमाडौँ उपत्यकाका हिटी : जलसम्पदा पुनर्स्थापना परियोजना’ अन्तर्गत सम्पन्न भएको हो, जसका लागि AFCP ले २ लाख ७५ हजार अमेरिकी डलर सहयोग गरेको थियो।

परियोजनाले उपत्यकाका कम्तीमा तीन परम्परागत हिटीको जिर्णोद्धार, विद्यार्थी तथा सम्पदा विज्ञलाई व्यावहारिक तालिम र दीर्घकालीन संरक्षण योजना निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ।

सन् २००३ देखि आजसम्म, AFCP मार्फत अमेरिकाले नेपालमा २८ वटा सांस्कृतिक संरक्षण परियोजनामा झन्डै ४६ लाख अमेरिकी डलरको सहयोग प्रदान गरेको छ, जसले नेपाललाई यस कार्यक्रमको सक्रिय साझेदारका रूपमा स्थापित गराएको दूतावासले जनाएको छ।

चित्रकला प्रदर्शनी

उद्घाटन समारोहसँगै येंगा हिटी परिसरमा हिटी सम्पदासंग केन्द्रित २० वटा चित्रकलाको प्रदर्शनी पनि आयोजना गरिएको थियो।

ई–आर्ट्स नेपाल, चिभा चैत्य र रोटरी क्लब अफ यलःको संयुक्त आयोजनामा उपत्यकाका ढुंगेधाराको इतिहास, संरचना र सांस्कृतिक महत्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रदर्शनी गरिएको बताइएको छ।

येंगा हिटी : ऐतिहासिक परिचय

‘यें’ भन्नाले नेपाल भाषामा काठमाडौँ शहर जनाउँछ। तामाङ, किरात, शेर्पा समुदायले यसलाई याम्बुरी/यम्बुङ्ग नामले पनि जान्ने गर्दछन्।

राजा गुणकामदेवले काठमाडौँ नगर बसाउँदा पूजाआजा गरी उद्घाटन गरेको क्षेत्र हालको येंगाल मानिन्छ।

यहीं अवस्थित येंगा हिटी प्राचीन ढुंगेधारा हो। यसमा राजा भिमार्जुन देव, विष्णु गुप्त, राजा नरेन्द्रदेवलगायतका शिलालेखहरू भेटिन्छन्।

तर इतिहासका केही अवधिमा चन्द्रशमशेरका वंशजहरूले यो क्षेत्र अतिक्रमण गरी ढुंगेधारालाई आफ्नै कम्पाउन्डभित्र पारेको उल्लेख पाइन्छ।

येंगालमै प्राचीन इकूवहाः (वज्रशिला महाविहार) अवस्थित छ, जहाँ ने.सं. ७८९ र ने.सं. ९४५ का अभिलेख भेटिन्छन्। यहाँ नासःद्यो (अवलोकितेश्वर), सरस्वतीलगायतका देव–देवीका मूर्तिहरू छन्।

हिटीमा रहेका पुराना शिलालेखअनुसार बुढानिलकण्ठस्थित विष्णुको विशाल मूर्ति यही स्थानमा रहेको उल्लेख छ।

राजा नरेन्द्रदेवले खोकनाका वासीहरुले दक्षिणमा रहेको हात्ती बनबाट यस स्थानसम्मा ल्याई पुर्याएकोमा धन्यवादसहित भूमिकर तथा सिमित गरगहना पहिरन गर्न पाउने अधिकार दिएको समेत उल्लेख गरिएको पाइन्छ।