पाकिस्तानी सहयोगमा ज्ञानोदय माविले पायो कम्प्युटर प्रयोगशाला

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तान सरकारले कम्प्युटर प्रयोगशाला स्थापना गरिदिएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन एवं हस्तान्तरण गरेका छन्।

नेपालमा डिजिटल शिक्षा प्रवर्द्धनका लागि पाकिस्तान जनताबाट आएको सहयोग अन्तर्गत प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ ।

विद्यालयमा सन् २०१३ मा पाकिस्तानकै सहयोगमा स्थापना गरिएको पहिलो कम्प्युटर प्रयोगशाला १२ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ। प्रयोगशालामा ४० बढी अत्याधुनिक कम्प्युटर, नयाँ फर्निचर र आधुनिक भूतल व्यवस्थापन गरिएको छ।

यो प्रयोगशाला कक्षा ९ देखि माथिका विद्यार्थीका लागि ICT शिक्षा केन्द्रका रूपमा उपयोग गरिनेछ। पुरानो प्रयोगशालालाई सुधारपछि प्राथमिक तहमा सारिएको छ, जसले बाल–विद्यार्थीको डिजिटल सिकाइ अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले विद्यालय, शिक्षक र समुदायको सक्रियता तथा व्यवस्थापन क्षमताको उच्च प्रशंसा गरे। उनले विद्यार्थीलाई आधुनिक प्रविधिहरू कृत्रिम बुद्धिमत्ता, ई–कमर्स, नवप्रवर्तन तथा फिनटेक जस्ता क्षेत्रमा अवसर खोज्न प्रेरित गराउँदै आधुनिक शिक्षा र आफ्नै सांस्कृतिक पहिचानबीच सन्तुलन राख्न सुझाव दिए।

उद्घाटन समारोहमा ‘नेपाल–पाकिस्तान मैत्री समाज’ स्थापना गर्ने घोषणा र विद्यालयको संगीत तथा खेलकुद क्लबलाई पाकिस्तान दूतावासले दिने सहयोगको प्रतिबद्धतालाई विद्यार्थी तथा समुदायले स्वागत गरेका थिए ।

यी पहलहरूले नेपाल–पाकिस्तान बीचको जनता तथा संस्थागत सम्बन्ध अझ बलियो बन्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ।

समारोहमा पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दीपेन्द्र बहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम बाबु कोइराला, अभिभावक–शिक्षक संघ अध्यक्ष देबाखर भट्टराई, काठमाडौं महानगर–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर उपस्थित थिए ।

त्यस्तै, शिक्षा बिकास तथा समन्वय इकाइ काठमाडौका प्रमुख डा. समन्तमणि आचार्य, काठमाडौं महानगर शिक्षा महाशाखा प्रमुख केशव ज्ञवाली र विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमाल लगायत सरोकारवालाको समेत उल्लेखनीय सहभागीता रहेको थियो ।