भक्तपुर । नेकपा(एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुर जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बिधान बमोजिम विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गर्दै शनिबार उनीहरू महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
भक्तपुर र चाँगुनारायण नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना तथा सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर २ बाट ९ जना गरि १४ प्रतिनिधिहरू सर्वसम्मतरूपमा चयन भएका निर्वाचन कमिटीले जनाएको छ ।
क्षेत्र नम्बर १ बाट रामबहादुर श्रेष्ठ, मनोज केसी, सपना तामाङ, दुर्गा थापा लामिछाने र बिष्णु तामाङ चयन भएका छन् । रामबहादुर र मनोज खुलाबाट तामाङ र लामिछाने महिलाबाट र बिष्णु युवाबाट छानिएका हुन् ।
त्यस्तै, क्षेत्र नं. २ बाट चयन भएका प्रतिनिधिहरूमा राजेन्द्र राजथला, शिवराम राउत, सानुकाजी कायस्थ, सूर्यलाल श्रेष्ठ, तारा सापकोटा, अनिता पाण्डे, सकुन्तला श्रेष्ठ, सुमन जोशी र दिपक बिशुङ्खे रहेका प्रमुख निर्वाचन अधिकृत भगवान खड्काले बताएका छन् । राजेन्द्र, शिवराम, सानुकाजी र सूर्यलाल खुलाबाट तारा अनिता र सकुन्तला महिलाबाट तथा सुमन र दिपक युवाबाट चयन भएका उनले जानकारी दिए ।
केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनका लागि प्रतिनिधि बन्न भक्तपुरबाट १ सय १० जना नेताहरूले आकांक्षा राखेका थिए ।
मनोनयन दर्ताबाटै निर्वाचन समितिले पाँच लाख पचास हजार रकम असुलेको तर, सर्वसम्मतको नाटक गरी रकम पचाएको एक उम्मेदवारले गुनासो गरे । निर्वाचन नहुनु अलोकतान्त्रिक भएको र मनोनयन शुल्क फिर्ता हुनुपर्ने उनको भनाइ छ ।
जिल्ला अध्यक्ष वचन देउजाले भने सर्वसम्मतको प्रयास सफल भएपछि अरुले बिनाविबाद मनोनयन फिर्ता लिएका बताए ।
अध्यक्षमा केपी ओली बिरुद्ध उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणा गरेपछि त्यसको प्रभाव भक्तपुरको प्रतिनिधि छनोटमा पनि परेको थियो ।
भक्तपुर एमालेको इन्चार्ज रहेका पार्टी पोलिट्ब्युरो सदस्य महेश बस्नेत अध्यक्ष ओलीको बलियो खम्बा हुन् भने जिल्ला अध्यक्ष वचन देउजा पोखरेल प्यानल मानिन्छन् ।
केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ का इन्चार्ज सोमप्रसाद मिश्र पोखरेल पक्षमा खुलेका छन् भने अर्का केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर २ का इन्चार्ज निर्मल भट्टराई अध्यक्ष ओलीकै पक्षमा छन् ।
भक्तपुरमा एमालेका थप तीन केन्द्रीय सदस्यहरु छन् । उनीहरू गोविन्द दुलाल, तुलसा दाहाल र विणा बास्तोला हुन् । केन्द्रीय सदस्यहरु स्वत: महाधिवेशन आयोजक समितिमा रहेका छन् ।
त्यस्तै, केन्द्रीय बिभाग र समितिबाट प्रतिनिधित्व गर्दै भक्तपुरका नवराज गेलाल, शशीजङ्ग थापा र सरस्वती बाटी पनि महाधिवेशन प्रतिनिधि भएका बताइएको छ । गेलाल पूर्व जिसस प्रमुख हुन् भने थापा र बाटी पूर्व प्रदेश सभा सदस्य हुन् ।
पछिल्लो समय पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र उनको पत्नी राधिका शाक्यले समेत भक्तपुर एमालेको संगठनमा प्रत्यक्ष हस्तक्षेप बढाएका एमाले श्रोत बताउँछ ।
जिल्लाबाट सर्वसम्मत भएका १४ महाधिवेशन प्रतिनिधि, विभाग र समितिमा रहेका ३ र आयोजक समितिका ६ गरि भक्तपुरबाट प्रतिनिधि हुने २३ जना मध्ये १९ जना ओली पक्षमा रहेको संस्थापन पक्षको दावी छ ।
फरक समूहप्रति अनुदार हुने नेतृत्वको शैलीले प्रतिनिधिहरु आफूहरूतर्फ नखुलेका पोखरेल पक्षका एक नेताले बताए । महाधिवेशनमा भने भक्तपुरका चालीस प्रतिसत प्रतिनिधि पोखरेल पक्षमा खुलेर लाग्ने उनको दावी छ ।
२७–२९ मङ्सिरमा काठमाडौंमा हुने तय भएको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरकै सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा गर्ने तयारी छ ।







