नेपाल एकायन कराते संघको उद्घोषण तालिम, खेल सामाग्री हस्तान्तरण र दन्त शिविर सम्पन्न

काठमाडौ । नेपाल एकायन कराते संघको आयोजनामा सञ्चालित १५ दिने उद्घोषण तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोह, खेलकुद सामग्री वितरण कार्यक्रम र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । 

बहुउद्देश्यीय मार्शलआर्ट केन्द्र, खुशिबुँ, नयाँ बजारले आयोजना गरेको कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १६ मा सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नं. १६ की वडा अध्यक्ष रोजीना श्रेष्ठ प्रमुख अतिथि तथा वडा सचिव प्रकाश खड्का विशेष अतिथिका रूपमा सहभागी थिए। साथै विभिन्न क्षेत्रका प्रतिष्ठित अतिथिहरुको उपस्थिति रहेको थियो।

नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो।

यस अवसरमा तालिमका मुख्य प्रशिक्षक शशी कपालीलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

यसैगरी काठमाडौं महानगरपालिका वडा नं. १६ बाट नेपाल एकायन कराते संघ, नयाँ बजार शाखालाई उपलब्ध गराइएका विभिन्न खेलकुद सामग्रीहरु प्रमुख अतिथिद्वारा हस्तान्तरण गरिएको थियो।

नेपाल एकायन कराते संघको सामाजिक दायित्व अन्तर्गत पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलको सहकार्यमा एकदिने निःशुल्क दन्त शिविर पनि सञ्चालन गरिएको थियो। शिविरको उद्घाटन वडा अध्यक्षबाट आफ्नै दन्त परीक्षण गरी गरिएको थियो।

उक्त शिविरबाट स्थानीय बासिन्दा, एकायन कराते खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा आवद्ध व्यक्तिहरुले सेवा लिएका थिए।