गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ।

संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीतलाई जीवन्त बनाएको छ।

गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन्। त्यस्तै इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्। गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा प्रस्तुत गरेको छ।

हेर्नुस् गीत

२०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन्। उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव र लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ मार्फत उनी लघुकथाको उन्नयनमा लागेका छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।

गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ।
उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ बाट सम्पादन अनुभव पनि बटुलेका छन्।