
रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले साइत हेरेर प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा शुक्रवार अपराह्न १२:३४ बजेको साइतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराए । सपथ ग्रहण अघि स्वस्ती बाचन शंखघोष र अष्ठमंगल पाठ पनि गरिएको थियो ।
सपथग्रहण पछि उनले सवा २ बजेको साइतमा प्रधानमन्त्रीको पदभार ग्रहण गरे भने बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पनि पुजापाठ गरेर प्रवेश गरेका छन् ।
प्रधानमन्त्री बालेनले साइतलाई महत्व दिएको विषयमा दुई खाले प्रतिक्रिया आइरहेको छ । उनका समर्थकहरुले धर्मशास्त्र र ज्योतिषशास्त्रप्रति प्रधानमन्त्रीको बिश्वासलाई सकारात्मक मानेका छन् भने आलोचकहरुले प्रधानमन्त्रीले धर्म विशेषलाई महत्व दिएका र रुढीवादी बनेका बताइरहेका छन् ।
प्रधानमन्त्री बालेनको यो कदमले उनको धर्मप्रतिको गहिरो आस्था र विश्वासलाई भने विश्वसामु उजागर गरिदिएको छ । आफै पनि सामान्य साइत हेर्न सक्ने प्रधानमन्त्रीले आफ्नो कार्यकाललाई सफल बनाउन उत्तम साइत छनौट गरेका हुन ।
प्रधानमन्त्री बन्ने भएपछि उनको सचिवालयका भिक्टर पौडेलले पन्चांग निर्णायक समितिलाई साइत हेरिदिने आग्रह गरेका थिए । हेरिएको साइत अनुसार सपथ र पदभार ग्रहण गरेपनि कार्यकाल सफल नभए समिति बिबादित बन्ने र यसको जनविश्वास घट्ने सरोकारवालाले सुझाव दिएपछि समिति औपचारिकरुपले साइत उपलब्ध गराउनबाट पछि हटेको थियो । समितिमै रहेका वरिष्ठ ज्योतिषहरुले उनका लागि अनौपचारिकरुपले साइत हेरिदिएका थिए ।
श्रोतका अनुसार समिति अन्तर्गतकै पन्चांग निर्धारणको जिम्मेवारीमा रहेकी सिद्धि पन्चांगकी ज्योतिष सिद्धिलक्ष्मी ब्यन्जनकारले बालेनका लागि प्रधानमन्त्री बन्ने साइत जुराएकी हुन । अन्य वरिष्ठ ज्योतिषहरुको रायसल्लाह अनुरुप साइतको उत्तम समय पहिचान गरिएको हो ।
सिद्धिलक्ष्मी ब्यन्जनकार बालेनका सल्लाहकार कुमार बेन (ब्यन्जनकार)को सहोदर दिदी हुन । सिद्धिलक्ष्मीका स्वर्गीय पितालाई बालेन राजनीतिको आदर्श मान्दछन । उनी पनि ज्योतिष विद्याका प्रकाण्ड विद्वान थिए । ललितपुरको ज्वागलस्थित ब्यन्जनकारको घर बालेनको राजनीतिक रणनीति बनाउने मात्र नभई आध्यात्मिक उर्जा र शक्ति आर्जनको थलोकोरुपमा समेत परिचित रहँदै आएको छ ।






