भक्तपुर । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । शनिबार बिहान भक्तपुरबाट उनीहरू पक्राउ परेका हुन् ।
पौने ५ बजेको समयमा सूर्यविनायक- ५ मनोरम टोल, कटुन्जेबाट पूर्व गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको टाेलीले नियन्त्रणमा लिएको हो भने सूनपा-७ गुण्डुबात पूर्वप्रधानमन्त्री ओली पक्राउ परे । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं तर्फ लगेको सुरक्षा श्रोतले जनाएको छ । गृहमन्त्री सुधन गुरुङले उनीहरू पक्राउ परेका पुष्टि गरेका छन् ।
भदौ २३ को जेनजी आन्दोलन दबाउन व्यापक बल प्रयोग गरी प्रदर्शनकारीहरुको हत्या गरेको अभियोगमा गौरीबहादुर कार्की नेतृत्वको जाचबुझ आयोगले दोषी करार गरेपछि बालेन नेतृत्वको मन्त्री परिषदको पहिलो बैठकले कार्वाही गर्ने निर्णय गरेको थियो । शुक्रबार रातिदेखि नै पक्राउको तयारीमा सरकार जुटेको भएपनि शनिबार बिहान मात्र प्रहरी टोलिले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कार्की आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आईजीपी चन्द्र कुवेर खापुङलाई १० वर्ष जेलसजायसहित सरकारी उच्च अधिकारीलाई कारबाहीको सिफारिस गर्दै प्रतिवेदन पेश गरेको थियोे ।







