काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यसैबिच, प्रतिनिधिसभा बैठकका अतिरिक्त आज विभिन्न संसदीय विषयगत समितिहरूको बैठक पनि बस्दै छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ ।






