सूर्यविनायकको नीति तथा कार्यक्रम : एक वडा एक पकेट क्षेत्रदेखि रोजगारी प्रवर्द्धन योजनासम्म

बाबुराम दाहाल, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, शिक्षा, पूर्वाधार, पर्यटन, सञ्चार, स्वास्थ्य, रोजगारी, वातावरण र सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई समेटेर बहुआयामिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगर प्रमुख बासुदेव थापाले शुक्रबार १८ औं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समावेशी, दिगो र प्रविधिमैत्री स्थानीय विकासको मार्गचित्र प्रस्तुत गरेको छ।

कृषिमा ‘एक वडा, एक पकेट’ नीति

२७ बुँदामा विस्तृत गरिएको कृषि तथा पशु सेवा कार्यक्रमअन्तर्गत नगरले ‘एक वडा, एक बाली वा पशुपंक्षी पकेट’ नीति ल्याएको छ। कृषकलाई प्रोत्साहन स्वरूप ५० प्रतिशत अनुदानमा बीउ तथा उपकरण वितरण गरिनेछ। साथै, माटो परीक्षण, जैविक मल उत्पादन, कौसी खेती, कृत्रिम गर्भाधान तथा निःशुल्क पशु सेवा शिविर सञ्चालन गरिने जनाइएको छ।

पूर्वाधारमा ३३ बुँदे योजना

‘गुणस्तरीय र दिगो पूर्वाधार : समृद्ध नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले सडक, ढल, खानेपानी, सम्पदा संरक्षण, पार्क, पार्किङ, भवन अभिलेखिकरण जस्ता विषयलाई समेटेको छ। ‘एक वडा, एक नमूना चोक’, ‘नगर प्रमुख उज्यालो नगर’, स्मार्ट कार्ड भाडा प्रणाली जस्ता नवप्रवर्तनात्मक योजनाहरू पनि प्रस्तुत गरिएका छन्।

शिक्षा, युवा र खेलकुदमा जोड

३६ बुँदे शिक्षा तथा युवा कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालय सुधार, शिक्षक दक्षता अभिवृद्धि, सीपमुखी शिक्षा, करियर काउन्सेलिङ, स्काउट गतिविधि, STEAM शिक्षा र ई-लाइब्रेरी जस्ता कार्यक्रम समावेश छन्। युवा तथा खेलकुदमा ‘राष्ट्रपति रनिङ शिल्ड’ को संस्थागत विकास र खेल संरचना निर्माण अगाडि सारिएको छ।

पर्यटन र संस्कृति प्रवर्द्धन

सम्पदा संरक्षण, मौलिक नाचगान, शिल्पकला, होमस्टे र स्थानीय खानपानको प्रवर्द्धन गर्दै नगरलाई पर्यटकीय गन्तव्य बनाउने ९ बुँदे कार्ययोजना सार्वजनिक गरिएको छ। सूचना प्रविधिको प्रयोगबाट प्रचारप्रसार र गन्तव्यको पहिचान सुनिश्चित गरिनेछ।

काम दिने नगर’ अवधारणासहित रोजगारी विस्तार

सीपमूलक तालिम, स्वरोजगार योजना, वैदेशिक रोजगारमैत्री पूर्वतयारी, श्रम सहायता कक्ष स्थापना र नगर प्रशिक्षण केन्द्र मार्फत युवालाई रोजगारी सिर्जना गरिनेछ। बेरोजगार तथ्यांक संकलन गरेर लक्षित कार्यक्रम निर्माण गरिने बताइएको छ।

सहकारी, वन र वातावरण संरक्षण

डिजिटल दर्ता, निगरानी संयन्त्र, उत्पादनमुखी लगानी प्रोत्साहनसँगै सामुदायिक वनको प्रयोगबाट पोखरी, वृक्षारोपण, भूसंरक्षण गर्ने योजना सार्वजनिक भएको छ। फोहोर व्यवस्थापन सुधार, डम्पिङ साइट निर्माण र पर्यावरणीय सचेतना अभियान पनि सञ्चालन गरिनेछ।

स्वास्थ्य, खानेपानी र सरसफाइ सुधार

टेलिमेडिसिन, निःशुल्क औषधि, डिजिटल स्वास्थ्य सेवा, विशेषज्ञ सेवा विस्तारजस्ता योजना रहेका छन्। खानेपानीमा पाइपलाइन विस्तार, स्रोत संरक्षण, नवप्रविधिको प्रयोग र सरसफाइतर्फ घरमै फोहोर छुट्याउने, सडक सफाइ अभियान सञ्चालन गरिनेछ।

समावेशी विकास र सामाजिक सुरक्षा

बालबालिका, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकको सीप विकास, स्वास्थ्य परीक्षण, मनोपरामर्श, संरक्षण गृह र वृद्धाश्रम निर्माण योजना समावेश छ। बालविवाह रोकथाम, समावेशी शिक्षा र सुरक्षित सेवा सुनिश्चित गरिने जनाइएको छ।

सञ्चार र सुशासनमा प्रविधिमैत्री नीति

११ बुँदे सूचना तथा सञ्चार नीति अन्तर्गत एफएम रेडियो सञ्चालन, सूचना केन्द्र स्थापना, सञ्चारकर्मी क्षमता अभिवृद्धि, लोककल्याणकारी विज्ञापन, डिजिटल साक्षरता र अप्टिकल फाइबर विस्तार गरिने छ। कर प्रशासनमा विद्युतीय कर प्रणाली, घरमै बसेर कर तिर्ने व्यवस्था र पारदर्शिता प्रवर्द्धन गर्ने कार्य अगाडि सारिएको छ।

दिगो विकास लक्ष्यमा स्थानीय प्रतिबद्धता

नगरपालिकाले वृक्षारोपण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण र हरियाली विस्तार मार्फत वातावरणमैत्री नगर निर्माणलाई प्राथमिकता दिएको छ। परम्परागत सीपलाई व्यवसायमा रूपान्तरण गर्ने योजना, रोजगारी सिर्जनामा निजी क्षेत्रसँग सहकार्य, र सामाजिक सुरक्षामा पहुँच विस्तार नगरको बहुआयामिक दृष्टिकोणका प्रमाण हुन्।

सूर्यविनायकको यो नीति तथा कार्यक्रमले कार्यान्वयनमा समग्र नगरवासीको सहभागिता र प्रभावकारितालाई जोड दिएको छ, जसले समृद्ध र समावेशी नगर बनाउने अपेक्षा गरिएको छ।

suryabinayak nagar sabha
suryabinayak nagar sabha