भक्तपुर । भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भगवान श्री कृष्णको चेला अर्जुन जस्तै सत्य, न्याय , धर्म र मानव कल्याणका लागि लड्न तयार रहेको बताएका छन् ।
शनिबार श्री कृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै उनले भने, “हामी राजनीतिकर्मीहरु अर्जुन बनेर लड्न तयार छौं, हाम्रो अर्जुन दृष्टि जनताको हित सिवाय छैन।”
देशमा अन्याय, अत्याचार, बेथिति र भ्रष्टाचार ब्याप्त रहेको भन्दै उनले त्यसका बिरुद्ध राजनीतिकर्मी लाग्नुपर्ने बताए । केही मानिसहरुले राजनीतिलाई बिकृत बनाएका र तीनैलाई देखाएर सबैलाई उस्तै भन्ने भाष्य बनाउन खोजिएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेश सरकारका नवनियुक्त सस्कृती तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले धर्म, सस्कृती र परम्पराको संरक्षणमा आफ्नो र प्रदेश सरकारको तर्फबाट कृष्णप्रणामी मन्दिरलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।







