भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ जगातीमा नयाँ रंगशाला निर्माणको लागि आवश्यक जग्गाको उपलब्धताबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई बालुवटार बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सम्पन्न छलफलमा ओलीले हालको दशरथ रंगशाला सानो भएकाले नयाँ, ठूला क्षमता भएको रंगशाला निर्माणको आवश्यकता औंल्याउदै सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा छलफल अघि बढाएका हुन् ।
नयाँ रङ्गशालाको लागि सूर्यविनायक- ८, जगातीमा रहेको पुरानो इँट्टा टायल कारखानाको करिब २ सय रोपनी जग्गामा सरकारले नजर लगाएको छ ।
भेटमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले छिटो जग्गा उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाइरहेको जानकारी गराएका प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताएका छन् ।
सूर्यविनायक नगरपालिकाको जगातीस्थित सोही स्थलमा करिब ५० हजार दर्शक अट्ने सुविधासम्पन्न रंगशाला निर्माण गर्ने सरकारले योजना सार्वजनिक गरेको छ।
सूर्यविनायक नगरप्रमुख वासुदेव थापा नेकपा एमाले भक्तपुरका नेता हुन् । यद्यपि उनी अध्यक्ष ओलीको क्याम्पमा भने छैनन् । उनी पूर्व रास्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । सोहीकारण नगरपालिकाले काम नसारेको आशंकामा नगर प्रमुख थापालाई बालुवाटार बोलाएरै प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिएका बताइएको छ ।
सो अवसरमा रास्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, जिल्ला खेलकुद विकास समिति भक्तपुरका पूर्व अध्यक्ष दीपक थापा लगायतको समेत सहभागिता रहेको बताइएको छ ।







