
राजेशमान मानन्धर, भक्तपुर । सूर्यविनायक नगरपालिकाको वडा नं. ५ कटुन्जेलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।
सोमबार आयोजित विशेष समारोहमा नगर प्रमुख बासुदेव थापाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकामा उल्लेख गरिएका ५१ वटै सूचक पूरा गरेपछि वडा नं. ५ ले यो मान्यता प्राप्त गरेको नगर प्रमुख थापाले जानकारी दिए।
उनले बालबालिकाको अधिकार, सुरक्षा र सहभागितालाई केन्द्रमा राखेर अघि बढेको सूर्यविनायक नगरपालिका चालु आर्थिक वर्षभित्र सम्पूर्ण नगरलाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यमा रहेको बताए।
उपप्रमुख सरिता तिम्सिना भट्टराईका अनुसार वडामा बालविवाह, बालश्रम तथा बाल हिंसाजस्ता गतिविधि नियन्त्रणमा छन्। सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुका साथै बालअधिकार संरक्षण, बाल सहभागिता र बालमैत्री सेवा प्रवाहका मापदण्ड पूरा भएकाले वडा घोषणा गरिएको हो।
वडाध्यक्ष राजकुमार जोशीले बालमैत्री घोषणा केवल सम्मानको विषय नभई थप जिम्मेवारी भएको उल्लेख गर्दै बालबालिका, अभिभावक, विद्यालय, बाल क्लब, नागरिक समाज तथा सरोकारवालासँग सहकार्य गर्दै बालमैत्री वातावरणलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
यद्यपि, घोषणा समारोहकै क्रममा सहभागी अधिकांश बालबालिकामा भने बालमैत्री स्थानीय शासनबारे पर्याप्त जानकारी नभएको देखिएको छ। कक्षा ९ मा अध्ययनरत श्रेया दाहालले यससम्बन्धी सूचकबारे जानकारी नभए पनि यस्तो घोषणा बालबालिकाको हितका लागि भएको बताइन्। उपस्थित अर्की विद्यार्थी सलिना कार्कीले पनि बालमैत्री स्थानीय शासनको अवधारणाबारे स्पष्ट रूपमा व्याख्या गर्न सकिनन्।
स्थानीय अगुवा तथा राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेलले घोषणा मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखे। बालबालिकालाई बालमैत्री स्थानीय शासनबारे जानकारी र प्रशिक्षण दिइए मात्र उनीहरूले आफ्ना अधिकारका विषयमा स्थानीय सरकारलाई जवाफदेही बनाउन सक्ने उनको भनाइ छ ।
बालमैत्री स्थानीय शासनको घोषणा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, बालबालिका तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।








