
भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर र सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा ट्राफिक सचेतना कार्यक्रम शनिबार सल्लाघारीमा सम्पन्न भएको छ ।
वडा नम्बर ५ मा क्रियाशील विभिन्न टोल सुधार समिति, मुख्य सडक छेउका ब्यवसायी र स्थानीयलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी ट्राफिक प्रहरी निरीक्षक झरना सोनारले एउटा सवारी चालकको सानो लापरबाहीले अर्कोको ठुलो क्षति, अङ्गभङ्ग र ज्यानै समेत जाने गरेको उदाहरण प्रस्तुत गर्दै आफूसंगै अरुको जीवनबारे समेत सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।

भक्तपुरका प्रायः दुर्घटनाको कारण मादक पदार्थ सेवन गरी सवारी चलाउनु र तीब्र गति रहेको जानकारी गराउँदै उनले ट्राफिक प्रहरीले गर्ने मापसे तथा गति जाँच जनताकै जीउज्यान जोगाउन भएको स्पष्ट पार्दै त्यसमा सबैको सहयोगको आवश्यकता औल्याइन् । भाग्ने र भनसुन गर्ने प्रवित्तिले ट्राफिक चेकिङबाट जोगिए पनि दुर्घटनाबाट जोगिन नसकिने उनको भनाइ छ ।
ट्राफिक प्रहरी निरीक्षक सोनारले दुर्घटना न्यूनीकरणबारे अभिमुखीकरण गर्दै अव्यवस्थित पार्किङ नगर्न, अत्यावश्यक सवारीलाई सडकमा प्राथमिकता दिन र सार्वजनिक सवारी प्रयोग गर्दा बसपार्कबाट मात्र चढ्न र ओर्लन पनि आग्रह गरिन् ।
उमेर बढ्दै जादा आँखाको ज्योति र दृष्टिमा कमी हुँदैजाने हुँदा आफ्नो कमजोरी लुकाएर सवारी नचलाउन समेत उनले सचेत गराएकी थिइन् ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले नागरिक सचेतना दुर्घटना न्यूनीकरणको प्रमुख आधार भएको उल्लेख गरे ।
नेपालीहरुमा नियम पालना गर्न नपरे हुन्थ्यो भन्ने प्रवित्ति रहेको उल्लेख गर्दै उनले बिदेशको उदाहरण दिनेले बिदेशी जस्तै सचेत ब्यवहार पनि गर्नुपर्ने बताए ।
“कुनैपनि राष्ट्र रातारात ब्यवस्थित भएका होइनन्, हामी पनि नियममा हिड्दै गयौं भने अवश्य ब्यवस्थित बन्छौं ।” उनले भने । प्रहरी उपरीक्षक खड्काले समाजका सचेत मानिसहरुले अरुलाई पनि सचेत पार्दै सम्मुन्नत समाज बनाउनुपर्ने बताए ।

सो अवसरमा सूर्यविनायक वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले हरेक स्थानीयले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिए । “ट्राफिक प्रहरीको कार्वाहीको डरले मात्र होइन, नागरिक कर्तब्यबोध गरी नियम पालना गरौं ।” उनले भने ।
वडाध्यक्ष जोशीले पार्किङस्थलको ब्यवस्था नगरी निजी सवारी नकिन्न पनि सुझाव दिए । त्यसैगरी छिमेकी र फुट्पाथ प्रयोगकर्तालाई बाटो छेकेर सवारी नरोक्न पनि उनले सुझाव दिएका छन् ।
वडा नम्बर ५ मा नगरपालिकाको कार्यालय देखि संघ र प्रदेश सरकारका विभिन्न कार्यालय रहेका तथा यो सूर्यविनायकको राजधानी नै भएको भन्दै उनले वडाबासीको ब्यवहार पनि राजधानीबासी जस्तो सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडाध्यक्ष जोशीले घर बहालमा बस्नेको विवरण माग गर्दा अहिलेसम्म उपलब्ध हुन नसकेको गुनासो गरे । “वडाको शान्तिसुरक्षा तथा ढल र पानी लगायतको ब्यवस्थापनमा तथ्यांक संकलन अनिवार्य छ” उनले भने, “तर, अझै उपलब्ध भएन ।” उनले हरेक नागरिक जिम्मेवार नभई सुख र समृद्धि सम्भव नहुने बताए ।

कविता पोखरेलले सञ्चालन गरेको सो कार्यक्रममा कटुन्जे घट्टेकुलो खानेपानी ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गेेल, समाजसेवी राजेशमान मानन्धर, किरण थापा त्यसैगरी युवा नेता कविर थापा र प्रवीण बाटी ब्यवसायी बिष्णुभक्त सिटिखल र रविन्द्र बज्राचार्य लगायत पाँच दर्जन स्थानीयको उपस्थिति रहेको थियो ।

भक्तपुरमा गत मंसिर महिना मात्रै कुल दुर्घटना संख्या १ सय ८० वटा भएका छन् जसमा संलग्न सवारी साधन संख्या ३ सय ६ वटा रहेको प्रहरीको तथ्यांक छ । ती दुर्घटनामा कसैको ज्यान नगएको तर १ सय १९ जना घाइते हुन पुगेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जनाएका छन् । यस्ता खाले सचेतना कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आयोजकको बिश्वास छ ।







