भक्तपुर । नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले प्रतिनिधि सभा निर्वाचनको लागि भक्तपुर-२ मा उम्मेदवार टुङ्गो लगाएको छ । सो पार्टीका सबैभन्दा ठुला नेता दिलिप प्रजापति भीष्मले प्रत्यक्षतर्फको दावी छोडेर समानुपातिक रोजेपछि युवा नेता रामप्रसाद सापकोटा दीपशिखा प्रत्यक्ष उम्मेदवार बन्ने बाटो खुलेको छ ।
शुक्रबार पार्टी कार्यालयमा बसेको जिल्ला समन्वयको बैठकले निर्वाचन क्षेत्र नम्बर २ मा दीपशिखालाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको नेता श्रीराम खाइजुले पुष्टि गरेका छन् ।
सिन्धुपाल्चोक जन्मथलो भएपनि दीपशिखाको कर्मथलो भने भक्तपुर नै हो । जनयुद्धमै भक्तपुर बुझेका उनी शान्ति प्रक्रियापछि वाइसीएलको भक्तपुर अध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष र इन्चार्ज समेत भएका युवा राजनीतिज्ञ हुन् ।
भक्तपुरको गठ्ठाघरमा उनको घर र ब्यवसाय रहेको छ । विभिन्न निर्वाचन र राजनीतिक अभियानमा खटेर यहाँको भूगोलबारे जानकार रहेका उनी संस्कृति, शान्ति सुरक्षा र बिकासनिर्माणमा स्थानीयसंग जोडिएका पनि छन् ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले आफ्नो पनि उम्मेदवारी दावी गरेपछि दीपशिखाको मात्र एकल नाम सिफारिस हुन भने सकेन । दोश्रो नम्बरमा बस्नेतको नाम सिफारिस भएको छ । उनी तत्कालीन नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष हुन् ।
बस्नेत गत स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकाको उपप्रमुखको उम्मेदवार समेत रहेका थिए । पार्टी एकतापछि बनेको नेकपाले उनको पनि नाम सिफारिस गरेको हो ।
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका सशक्त उम्मेदवार दीपशिखाको इन्ट्रीसंगै सो पार्टीका कार्यकर्ता उत्साहित भएका छन् । त्यतिमात्र होइन, अन्य दल र स्वतन्त्र उम्मेदवार बन्ने तयारी गरिरहेका नेताहरू पनि दीपशिखाको इन्ट्रीले तरङ्गित बनेका छन् । दीपशिखा युवा परिचालन र निर्वाचन केन्द्रित रणनीतिका जानकार मानिन्छन् ।
यता, अर्का प्रस्तावित उम्मेदवार बस्नेत पनि विद्यार्थी राजनीतिबाट आएका जुझारु नेता हुन् । सानोठिमी क्याम्पसका निर्वाचित सचिव भइसकेका र नेकपा समाजवादी भक्तपुरको नेतृत्वले खारिएका नेता हुन् बस्नेत । सबैसँग मित्रवत ब्यवहार र सहयोगी भएका कारण उनी स्थानीयबीच लोकप्रिय रहेका छन् ।
जिल्ला समन्वयको बैठकले भक्तपुर-२ को प्रत्यक्ष निर्वाचनमा सापकोटा र बस्नेतलाई सिफारिस गरेको र माथिल्लो समितिले बाकी निर्णय गर्ने नेता सुनिल बासुले बताए ।
समानुपातिकमा पहिलो नम्बरमा सिफारिस भएका दिलिपकुमार प्रजापति भीष्मलाई सो पार्टीका संयोजक प्रचण्डले पनि समानुपातिक सांंसद बनाउने वचन दिएको बताइन्छ ।
यता, दोश्रो नम्बरमा परेकी तोत्रकुमारी अधिकारी पनि नारायणकाजी श्रेष्ठ निकट प्रभावशाली नेतृ हुन् । नारायणकाजी श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री रहँदा उनी सचिवालयमा रहेर काम गरेकी थिइन् ।
समानुपातिक सिफारिस हुने अन्य नेताहरुमा भवानी खड्का,रीता अवाल, अन्जना पोखरेल, माइलाबाबु देउला,प्रेमकुमार लामा र जयकृष्ण दुवाल रहेका छन् । उनीहरु पनि कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि इमानपूर्वक लामबद्ध रहँदै आएका छन् ।
( श्रोतबाट प्राप्त केही अपुष्ट जानकारी पुष्ट्याईपछि सच्याइएको छ ।-सम्पादक )







