कटुन्जेमा सार्वजनिक यातायातको पहुँच पुर्याउने प्रयास

भक्तपुर । बत्ति मुनी अध्यारो भने झैं सूर्यविनायक नगरपालिकाको कार्यालयसमेत रहेको पुरानो बस्ती कटुन्जेमा सार्वजनिक यातायातको पहुँच छैन । कटुन्जेमा बुधबारबाट भने सार्वजनिक सवारीको रुपमा टेम्पो सञ्चालन हुने भएको छ ।

सूर्यविनायक-५ का वडाध्यक्ष राजकुमार जोशीले मुख्य सडकहरूमा रुट हुनेगरी टेम्पो सञ्चालनको अनुमति दिइएको जनाएका छन् । “वडामा ५० वटा टेम्पो सञ्चालनका लागि निजी क्षेत्रलाई अनुमति दिइएको छ ।” उनले भने ।

टेम्पो सञ्चालनमा आएसंगै स्थानीयका साथै नगरपालिका कार्यालय र यहाँस्थित अन्य संघीय एवं प्रादेशिक सरकारी कार्यालयका सेवाग्राहीलाई सुविधा हुने वडाध्यक्ष जोशीले बिश्वास व्यक्त गरे । ” यसले सुविधा संगै रोजगारीसमेत सुनिस्चित हुनेछ ।” उनले भने ।

कटुन्जेमा सडक डिभिजन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, संघीय खानेपानी आयोजना लगायत आधा दर्जन सरकारी कार्यालय रहेका छन् ।

सार्वजनिक यातायातको पहुँच नभएको यस क्षेत्रमा केही वर्ष अघिदेखि जेष्ठ नागरिकलाई लक्षित गरि एक गैरनाफामुखी संस्थाले इ-रिक्साको नि:शुल्क सेवा शुरु गरेको थियो । निजी क्षेत्रको प्रवेशसंगै यो पुरानो बस्ती पहिलोपटक सार्वजनिक यातायातको पहुँचमा पुगेको छ ।

स्थानीयले भने कटुन्जेबाट नगर यातायात सञ्चालन हुनुपर्ने मत राख्दै आएका छन् । कटुन्जे प्रसिद्ध साहित्यकार चक्रपाणी चालिसेको जन्मस्थल हो । यहाँ सुशीला भैरव लगायत धार्मिक एक पर्यटकीय क्षेत्र समेत रहेका छन् ।