४५ देश संलग्न भिडियो प्रतियोगितामा नास्ट तेस्रो बन्न सफल

काठमाडौं । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (National Information Society Agency–NIA) द्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

४५ देशका ६० सूचना पहुँच केन्द्रका कार्यक्रमलाई समेट्दै आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशबाट ३० वटा भिडियो प्रस्तुत गरिएको थियो।

३ देखि ५ मिनेट अवधिको भिडियोमा सफलताको कथा, प्रेरक प्रसंग, मनछुने सामाग्री  र कार्यक्रमको अधिकतम उपयोगलाई समेट्नुपर्ने मापदण्ड राखिएको थियो।

विकसित देशहरूको तुलनामा अत्याधुनिक प्राविधिक उपकरण र उच्चस्तरीय जनशक्तिको अभाव हुँदाहुँदै पनि नास्टले तेस्रो स्थान प्राप्त गर्नु उपलब्धि भएको नास्ट अन्तर्गत सञ्चालित सूचना पहुँच केन्द्रका संयोजक प्रदीप ढोडारीले बताएका छन् ।

” यो हाम्रो प्रतिष्ठानको लागि मात्र होइन, समग्र देशकै लागि गौरवको विषय हो।” उनले भने ।

तेस्रो स्थान हासिल गरेसंगै नास्टले १ हजार अमेरिकी डलर र प्रमाणपत्र पुरस्कार हात पारेको छ । प्रतियोगितामा पहिलो स्थान मङ्गोलियाले प्राप्त गर्यो भने दोस्रो स्थान कोलम्बियाले सुरक्षीत गर्न सफल भएको थियो । 

कोरियाली सहयोगमा स्थापना भएको सूचना पहुँच केन्द्र
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कोरिया सरकारसमक्ष आधिकारिक विकास सहायता (Official Development Assistance–ODA) अन्तर्गत प्रस्ताव पेश गरेपछि कोरियाको NIA को प्राविधिक सहयोगमा सूचना पहुँच केन्द्र (Information Access Center–IAC) स्थापना गरिएको हो।

सन् २०२० डिसेम्बर ११ मा द्विपक्षीय सम्झौता (MoU) मा हस्ताक्षर भई औपचारिक प्रक्रिया सुरु गरिएको थियो भने सन् २०२१ नोभेम्बर ११ मा केन्द्रको औपचारिक उद्घाटन सम्पन्न भएको थियो।

दुई देशबीचको सहकार्यको मुख्य उद्देश्य नेपालमा विद्यमान डिजिटल विभाजन घटाउने र सूचना प्रविधि क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउनु हो।

सूचना पहुँच केन्द्रको कार्य विवरण 
सूचना पहुँच केन्द्रलाई दुई भागमा विभाजन गरिएको छ। पहिलो, नास्ट परिसरभित्र स्थापना गरिएको भौतिक पूर्वाधारसहितको सूचना प्रविधि ल्याब, जहाँ विभिन्न IT तालिमहरू सञ्चालन गरिन्छ। दोस्रो, घुम्ती सूचना पहुँच केन्द्र (मोबाइल IAC बस), जसले देशका सातै प्रदेशमा पुगेर तालिम प्रदान गर्दै आएको छ।

प्रतिष्ठानमा रहेका IT ल्याबहरूबाट विद्यालय तथा विश्वविद्यालयका शिक्षक–विद्यार्थी, अनुसन्धानकर्ता, कर्मचारी तथा सरकारी निकायका कर्मचारीहरूलाई आवश्यकता अनुसारका तालिम प्रदान गरिँदै आएको छ। त्यसैगरी मोबाइल IAC मार्फत विद्यालय, विश्वविद्यालय, सरकारी तथा सुरक्षा निकायका पदाधिकारीहरूलाई समेत सूचना प्रविधिसम्बन्धी तालिम दिइँदै आएको छ।

१२ हजारभन्दा बढीलाई निःशुल्क IT तालिम
सन् २०२२ देखि हालसम्म नास्टको सूचना प्रविधि ल्याब र मोबाइल IAC मार्फत १२ हजारभन्दा बढी नागरिकलाई निःशुल्क सूचना प्रविधि तालिम प्रदान गरिएको छ। नयाँ अवधारणामा आधारित यो कार्यक्रमले व्यापक आकर्षण र प्रशंसा बटुल्दै आएको छ। सार्वजनिक माग बढेसँगै कार्यक्रमको दायरा पनि विस्तार गर्दै लगिएको नास्टले जनाएको छ।

दृष्टिविहिन लक्षित आधुनिक उपकरण र तालिम
कोरियन सरकारको सहयोगमा दृष्टिविहिन व्यक्तिहरूको जीवनयापन सहज बनाउन विभिन्न आधुनिक उपकरणहरू पनि उपलब्ध गराइएको छ। सूचना पहुँच केन्द्रमार्फत नास्ट परिसर मात्र नभई देशका अन्य स्थानहरूमा समेत दृष्टिविहिन लक्षित तालिम कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

सीमित स्रोत–साधनका बाबजुद पनि कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढाइएकाले यस्ता कार्यक्रमहरू देशभर विस्तार गर्नुपर्ने माग समेत बढ्दै गएको छ।