ललितपुर । नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको अध्यक्षमा राज घिमिरे दोहोरिएका छन् । मंगलबार भएको दोस्रो जिल्ला अधिवेशनबाट उनी पुन अध्यक्ष निर्वाचित भएका छन् ।
घिमिरेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । जसमा १५ जना पदाधिकारी रहेका छन्। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल रहेका छन्।
त्यसैगरी उपाध्यक्षहरूमा तिर्थबहादुर लामा, गणेश लामा, नविन महर्जन र उषा काफ्ले चयन भएका छन्।
महासचिवमा अन्जान गौतम, उपमहासचिवमा राज कार्की, सचिवमा उपेन्द्र कलवार, सन्तबहादुर तामाङ र सञ्जय लामा तथा कोषाध्यक्षमा बेलमती रोकाया रहेका छन्। सिङ्गै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
अध्यक्ष घिमिरेले संस्थालाई साना तथा मझौला व्यवसायीको हितमा काम गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्दै अगाडि बढाइने प्रतिबद्धता प्रकट गरेका छन् ।
अधिवेशनको उद्घाटन पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले गरेकी थिइन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री भुसालले फागुन २१ गते हुने निर्वाचनमार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकटलाई टार्न सकिने बताएकी छन्।
उनका अनुसार जेन–जेड आन्दोलन सुशासनको मागका लागि उठेको भए पनि भदौ २४ गतेको घटना जेन–जेडद्वारा नभई योजनाबद्ध र विध्वंसात्मक प्रकृतिको थियो।
“त्यो घटनाबाट राज्यलाई मात्र करिब ८४ अर्ब रुपैयाँको क्षति भयो। राजनीतिक दलका कार्यालय, निजी घर तथा व्यवसायमा भएको क्षतिको यकिन तथ्यांक आउन बाँकी नै छ,” उनले भनिन्। यस्ता घटनाहरू देशभक्त नेपालीबाट नभई लामो तयारीसहित गरिएको निष्कर्षमा पार्टी पुगेको उनको भनाइ थियो।
साना तथा मझौला उद्यमी–व्यवसायीका पेशागत समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै भुसालले जिल्लाको विशिष्टताका आधारमा योजना तथा नीतिगत व्यवस्था गर्न सक्षम र गतिशील नेतृत्व चयन गर्न आग्रह गरिन्।
कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित) ले साना व्यापार व्यवसायमा संलग्नहरू एकताबद्ध भए सञ्चालनका क्रममा आइपर्ने समस्याको समाधान सहज हुने बताए। उनले अधिवेशनबाट चुस्तदुरुस्त समिति निर्माण गरी महासंघलाई पालिकास्तरसम्म विस्तार गर्न आग्रह गरे।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले देशमा व्याप्त कुशासनका कारण व्यापार, व्यवसाय र लगानीको वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गरे।
राज्यले व्यवसाय प्रवर्द्धन गर्ने खालको नीतिगत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै महासंघले साना व्यवसायीको हितमा निरन्तर आवाज उठाउँदै आएको बताए।
महासंघ बागमती प्रदेशका महासचिव सन्तोष पौडेलले २०७९ असार ३० गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई महासंघ क्रियाशील रहेको जानकारी दिए।
संस्थागत विकास र विस्तारमार्फत साना व्यवसायीका समस्या समाधानमा महासंघ सक्रिय रहेको उनले बताए। उत्पादनसँग जोडिएको समाजवादउन्मुख अर्थतन्त्र निर्माण र स्वदेशमै अवसर सिर्जना गर्न महासंघले ध्यान केन्द्रित गरेको उनको भनाइ थियो।







