निर्वाचनबाट मात्र संविधान र राष्ट्रियताको रक्षा सम्भवः पूर्वमन्त्री पम्फा भुसाल

ललितपुर । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकटलाई टार्न सकिने बताएकी छन्।

नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको मंगलबार महालक्ष्मीस्थानमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको धारणा राखिन्।

भुसालले जेन–जेड आन्दोलनका क्रममा ६ दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाउनुपरेको र भदौ २४ गते भएको विध्वंसात्मक घटनाले देशको राष्ट्रियता र राजनीतिक स्थायित्वमा नकारात्मक असर पारेको बताइन्।

उनका अनुसार जेन–जेड आन्दोलन सुशासनको मागका लागि उठेको भए पनि भदौ २४ गतेको घटना जेन–जेडद्वारा नभई योजनाबद्ध र विध्वंसात्मक प्रकृतिको थियो।

“त्यो घटनाबाट राज्यलाई मात्र करिब ८४ अर्ब रुपैयाँको क्षति भयो। राजनीतिक दलका कार्यालय, निजी घर तथा व्यवसायमा भएको क्षतिको यकिन तथ्यांक आउन बाँकी नै छ,” उनले भनिन्। यस्ता घटनाहरू देशभक्त नेपालीबाट नभई लामो तयारीसहित गरिएको निष्कर्षमा पार्टी पुगेको उनको भनाइ थियो।

भुसालले मुलुकका विद्यमान समस्या, चुनौती र राष्ट्रिय उपलब्धिको रक्षा गर्न अबको विकल्प निष्पक्ष निर्वाचन नै भएको उल्लेख गरिन्।

यद्यपि, फागुन २१ मा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा आशंका कायमै रहेको बताउँदै त्यसका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले निर्वाचनमा सहभागी दलहरू सहज रूपमा जनतामाझ जान सक्ने वातावरण हुनुपर्ने बताइन्। समानुपातिकतर्फ उम्मेदवारी दर्ता भइसकेको तथ्यले निर्वाचनको प्रक्रिया अगाडि बढेको संकेत गरेको उनको भनाइ थियो।

पछिल्ला दिनमा पटक–पटकका ऐतिहासिक आन्दोलनबाट परिवर्तन ल्याएका दलहरूलाई ‘खतम भइसके’ भन्ने भ्रम समाजमा फैलाइएको उल्लेख गर्दै भुसालले उमेरले मात्रै नयाँ हुँदैमा दीर्घकालीन सोच, रणनीति र ऐतिहासिक विरासत नभएका दलहरूले मुलुकमा दिगो परिवर्तन ल्याउन सक्छन् भन्ने विश्वास गर्न सकिने अवस्था नरहेको धारणा राखिन्।

उनले सूचना प्रविधिको दुरुपयोगबाट भ्रमलाई सत्यझैँ स्थापित गर्ने प्रवृत्तिले थप चुनौती सिर्जना गरेको बताइन्। “राजनीतिमा सिद्धान्त र विचार नभएकाहरू लोकप्रियताको नाममा हावी हुने खतरा बढेको छ,” उनले भनिन्।

प्रविधिले सही सूचना प्रवाह गर्न सजिलो बनाएको उल्लेख गर्दै भ्रम चिर्दै सत्य सूचना जनतासम्म पुर्‍याउन सके मात्रै साझा उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो।

पूर्वमन्त्री भुसालले देशका सबैभन्दा धनी वर्गका व्यक्तिहरू ‘रास्वपा’को समानुपातिक सूचीमा रहेको तथ्य उल्लेख गर्दै उनीहरूबाट साना तथा मझौला वर्गको हितमा काम हुनेमा शंका व्यक्त गरिन्।

राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको वास्तविक मालिक नेपाली नागरिक नै भएको बताउँदै उनले विगतमा राज्यले पछाडि पारिएका समुदायलाई नीतिगत रूपमा मूलधारमा समेट्दै आएको जानकारी गराइन्।

उनले जनताको सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट बनेको संविधान हाल संकटमा परेको उल्लेख गरिन्। साथै, कला र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको, गाउँ र सहर जोडिएको ऐतिहासिक विरासत बोकेको जिल्ला ललितपुरले स्थानीय कच्चा पदार्थमा आधारित उद्यम र व्यवसायमार्फत आधुनिक युगमा अग्रगामी भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

साना तथा मझौला उद्यमी–व्यवसायीका पेशागत समस्या समाधानका लागि सामूहिक प्रयास र सौदावाजी आवश्यक रहेको उल्लेख गर्दै भुसालले जिल्लाको विशिष्टताका आधारमा योजना तथा नीतिगत व्यवस्था गर्न सक्षम र गतिशील नेतृत्व चयन गर्न आग्रह गरिन्।

कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित) ले साना व्यापार व्यवसायमा संलग्नहरू एकताबद्ध भए सञ्चालनका क्रममा आइपर्ने समस्याको समाधान सहज हुने बताए। उनले अधिवेशनबाट चुस्तदुरुस्त समिति निर्माण गरी महासंघलाई पालिकास्तरसम्म विस्तार गर्न आग्रह गरे।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले देशमा व्याप्त कुशासनका कारण व्यापार, व्यवसाय र लगानीको वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गरे।

राज्यले व्यवसाय प्रवर्द्धन गर्ने खालको नीतिगत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै महासंघले साना व्यवसायीको हितमा निरन्तर आवाज उठाउँदै आएको बताए।

महासंघ बागमती प्रदेशका महासचिव सन्तोष पौडेलले २०७९ असार ३० गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई महासंघ क्रियाशील रहेको जानकारी दिए।

संस्थागत विकास र विस्तारमार्फत साना व्यवसायीका समस्या समाधानमा महासंघ सक्रिय रहेको उनले बताए। उत्पादनसँग जोडिएको समाजवादउन्मुख अर्थतन्त्र निर्माण र स्वदेशमै अवसर सिर्जना गर्न महासंघले ध्यान केन्द्रित गरेको उनको भनाइ थियो।

महासंघ ललितपुरका अध्यक्ष राज घिमिरेले संस्थालाई साना तथा मझौला व्यवसायीको हितमा काम गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्दै अगाडि बढाइने प्रतिबद्धता जनाए।

नयाँ कार्यसमिति चयन
आज भएको दोस्रो जिल्ला अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन गरिएको छ, जसमा १५ जना पदाधिकारी रहेका छन्। नवगठित कार्यसमिति अध्यक्षमा राज घिमिरे पुनः दोहोरिएका छन् भने वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल रहेका छन्।

त्यसैगरी उपाध्यक्षहरूमा तिर्थबहादुर लामा, गणेश लामा, नविन महर्जन र उषा काफ्ले चयन भएका छन्।

महासचिवमा अन्जान गौतम, उपमहासचिवमा राज कार्की, सचिवमा उपेन्द्र कलवार, सन्तबहादुर तामाङ र सञ्जय लामा तथा कोषाध्यक्षमा बेलमती रोकाया चयन भएका छन्।