काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउन थालेपछि पार्टी सभापति रवि लामिछानेले मन्त्री र सांसदहरूलाई समेटेर विशेष छलफल गरेका छन्।
सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा करिब तीन घण्टा चलेको उक्त भेटघाटमा लामिछानेले आन्तरिक विषय, असन्तुष्टि र गुनासाहरू बाहिर नलगी पार्टी र संसदीय दलभित्रै संयमित भएर राख्न निर्देशन दिएका हुन्।
सांसद लिमा अधिकारीका अनुसार मन्त्री र सांसदहरूबिच यस किसिमको अन्तरक्रिया पहिलोपटक भएको हो। बैठकमा सांसदहरूले मन्त्रालयका कामकारबाहीबारे उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए।
सरकार निर्माण भएको चार महिना बित्दासमेत जनस्तरमा असन्तुष्टि देखिन थालेपछि सबैलाई अनिवार्य उपस्थिति गराइ यो छलफल आयोजना गरिएको थियो। छलफलमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह, भौतिक पूर्वाधारमन्त्री सस्मित पोखरेल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठबाहेक अन्य अधिकांश मन्त्रीहरूको सहभागिता रहेको थियो।
गृहमन्त्री र कार्यशैलीमाथि प्रश्न
बैठकमा सांसदहरूले मुख्यगरी गृह, शिक्षा, कृषि, उद्योग तथा अर्थ मन्त्रालयका गतिविधिबारे चासो र असन्तुष्टि व्यक्त गरे। विशेष गरी गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति प्रश्न उठाइएको थियो। ‘जेनजी आन्दोलन’ भएको एक वर्ष पुग्न लाग्दा पनि दोषीहरूमाथि कारबाही नभएको र उनीहरू छुट्दै गएकोमा असन्तुष्टि जनाउँदै सहिद रचना खतिवडाकी आमा र अन्य सांसदहरूले सरकारको फितलो उपस्थितिबारे प्रश्न गरे।
जवाफमा गृहमन्त्री गुरुङले दोषीहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै केही मुद्दाहरू अदालतका कारण अड्किएको स्पष्ट पारे। उनले आफ्ना गुनासाहरू मन्त्रालयको सचिवालयमा दर्ता गराउन अनुरोध गर्दै सत्तापक्षीय सांसदहरूबाटै हुने विरोधले प्रतिपक्षीलाई बल पुग्ने बताए।
राजनीतिक नियुक्ति पारदर्शी हुन नसकेको सांसदहरूको आरोपमा शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले इतिहासमै पहिलोपटक पूर्ण रूपमा योग्यता (मेरिटोक्रेसी) का आधारमा नियुक्ति भइरहेको दाबी गरे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: बजारमा खाना पकाउने ग्यासको अभाव चुलिएका विषयमा मन्त्री गौरीकुमारी यादवसँग सांसदहरूले स्पष्टीकरण मागेका थिए।
कृषि मन्त्रालय: मल अभावको विषयमा कृषिमन्त्री गीता चौधरीले देशभर पर्याप्त रासायनिक मल पुर्याउन करिब ६२ अर्ब रुपैयाँ लाग्ने र त्यसका लागि अर्थ मन्त्रालयसँग सहकार्य भइरहेको जानकारी दिइन्।
छलफलको अन्त्यमा सभापति रवि लामिछानेले आगामी दिनहरूमा संसदीय दलका नेताको उपस्थितिमा यस्ता बैठकहरू नियमित आयोजना गरी सबै समस्या र असन्तुष्टिको व्यवस्थित समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे।







