अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४०० खर्ब डलर नाघ्यो

एजेन्सी । अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४०० खर्ब डलर नाघेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबारसम्म संघीय सरकारको कुल सार्वजनिक ऋण ४०० खर्ब ४७ अर्ब डलर पुगेको हो।

ट्रेजरीको दैनिक नगद तथा ऋण विवरणअनुसार यसमध्ये ३२२ खर्ब ६६ अर्ब डलर सरकारी ऋणपत्रमा सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको ऋण हो भने ७७ खर्ब ८२ अर्ब डलर सरकारी निकायहरूबीचको ऋण हो।

अमेरिकी सरकारको ऋण पछिल्लो एक दशकभन्दा कम अवधिमा दोब्बर भन्दा बढी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।सन् २०१७ जनवरीमा डोनाल्ड ट्रम्प पहिलोपटक राष्ट्रपति पदमा शपथ लिँदा अमेरिकाको ऋण १९९ खर्ब ५ अर्ब डलर ऋण थियो।

त्यसयता ऋणमा भएको वृद्धिको करिब एकतिहाइ हिस्सा कोभिड–१९ महामारीका बेला सरकारले ठूलो ऋण लिएर गरेको खर्चसँग सम्बन्धित छ। बाँकी वृद्धि ट्रम्प र जो बाइडेन प्रशासनका आर्थिक नीतिसँगै लामो समयदेखिको कर आम्दानी र सरकारी खर्चबीचको असन्तुलनका कारण भएको रोयटर्सले जनाएको छ।

अमेरिकी बजेटमाथि निगरानी राख्ने संस्थाहरूले ४०० खर्ब डलरको सीमा नाघ्ने अनुमान यसअघि नै गरेका थिए। उनीहरूले संसद्ले खर्च घटाउने, कर बढाउने वा दुवै उपाय अवलम्बन नगरे अमेरिकाले गम्भीर ऋण संकटको सामना गर्न सक्ने चेतावनी दिएका छन्।

द्विदलीय तथा गैरनाफामुखी कमिटी फर अ रेस्पोनसिबल फेडेरल बजेटकी अध्यक्ष माया म्याकगिनिसले ४०० खर्ब डलरको ऋण सरकारको खातामा मात्र सीमित नरहेको बताइन्।

‘४०० खर्ब डलरको ऋण सरकारको खातामा मात्र हुँदैन। यसको प्रभाव अर्थतन्त्रभरि पर्छ र कुनै न कुनै रूपमा नागरिकहरूको टाउकोमा पनि पुग्छ,’ उनले भनिन्।

बढी ऋण लिँदा मुद्रास्फीति बढ्ने, बजेटका अन्य प्राथमिकताका लागि उपलब्ध स्रोत घट्ने र घरेलु संकट तथा बाह्य अस्थिरताका बेला अमेरिकाको जोखिम बढ्ने उनले बताइन्। म्याकगिनिसले ४०० खर्ब डलरको ऋणको सीमा ३९० खर्ब डलर पुगेको पाँच महिनाभन्दा कम समयमै पार भएको बताइन्।

अमेरिकाको सरकारी ऋण २० वर्षभन्दा कम अवधिमा चार गुणा भएको छ। सन् १९८१ मा पहिलोपटक अमेरिकाको ऋण १० खर्ब डलर पुगेको थियो। अमेरिकी ऋणप्रति विदेशी लगानीकर्ताको चासोमा पनि केही कमजोरी देखिन थालेको छ।

अमेरिकी ट्रेजरी ऋणपत्रको करिब एकतिहाइ हिस्सा विदेशी लगानीकर्तासँग रहे पनि पछिल्लो एक वर्षमा उनीहरूको माग घटेको रोयटर्सले जनाएको छ। अमेरिकाको बजेट घाटा पनि तीव्र गतिमा बढिरहेको विभागले जनाएको छ।

ट्रेजरी विभागका अनुसार जुलाईमा मात्रै अमेरिकी बजेट घाटा ४३२ अर्ब डलर पुगेको थियो, जुन अमेरिकी इतिहासकै चौथो ठूलो मासिक घाटा हो।

भन्सारबाट प्राप्त हुने राजस्वभन्दा ट्यारिफ फिर्ता रकम बढी भएपछि लगातार तेस्रो महिना भन्सार आम्दानी ऋणात्मक भएको थियो। त्यसमाथि सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकका लागि मेडिकेयर खर्च पनि बढिरहेको छ।

सन् २०२६ को वित्तीय वर्षका पहिलो १० महिनामै अमेरिकी बजेट घाटा अघिल्लो वर्षको पूरै वित्तीय वर्षको घाटाभन्दा बढी भइसकेको छ। चालु वित्तीय वर्ष सकिन अझै दुई महिना बाँकी छ।

ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी सार्वजनिक ऋण ७८ खर्ब डलर बढेको थियो। त्यसको आधाभन्दा बढी हिस्सा उनको कार्यकालको अन्तिम नौ महिनामा महामारी नियन्त्रण तथा आर्थिक राहतका लागि गरिएको खर्चका क्रममा थपिएको थियो।

ट्रम्पले जनवरी २०२५ मा दोस्रोपटक राष्ट्रपतिको कार्यभार सम्हालेयता मात्रै अमेरिकी ऋणमा थप ३८ खर्ब डलर डलर बढिसकेको छ। दुवै कार्यकाल जोड्दा ट्रम्प राष्ट्रपति रहँदा अमेरिकाको ऋण ११६ खर्ब डलरले बढेको रोयटर्सले जनाएको छ।

यसैगरी बाइडेनको चार वर्षे कार्यकालमा अमेरिकी सार्वजनिक ऋण ८४ खर्ब डलर बढेको थियो। महामारीपछिको आर्थिक पुनरुत्थानका लागि गरिएको खर्चसँगै पूर्वाधार निर्माण, स्वच्छ ऊर्जामा अनुदानलगायतका ठूला सरकारी कार्यक्रमले पनि ऋण बढाउन भूमिका खेलेका थिए।

ट्रम्पको दोस्रो कार्यकालको प्रमुख कार्यक्रम वन बिग ब्युटिफिल बिल एक्टले मात्रै अमेरिकी ऋणमा ४७ खर्ब डलर थपिने अनुमान कांग्रेसको गैरदलीय बजेट कार्यालय (सिबिओ) ले गरेको छ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकाललाई सरकारी खर्च कटौतीमा केन्द्रित कार्यकालका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनले सरकारी निकायमा ठूलो संख्यामा कर्मचारी कटौतीको पहलसमेत गरेका छन्। तर खर्च कटौतीको ठूलो हिस्सा संघीय बजेटको सबैभन्दा सानो हिस्सामध्ये पर्ने ‘डिस्क्रिसनरी’ कार्यक्रमहरूमा केन्द्रित भएको रोयटर्सले जनाएको छ।

अमेरिकाले वार्षिक करिब ७० खर्ब डलर खर्च गर्छ। त्यसको करिब ६० प्रतिशत सामाजिक सुरक्षा, मेडिकेयर, मेडिकेड र पूर्वसैनिकको स्वास्थ्य तथा सेवा सुविधाजस्ता अनिवार्य कार्यक्रममा जान्छ। यी कार्यक्रमको खर्च जीवनयापनको लागतसँगै सामान्यतः बढ्दै जान्छ।

त्यसबाहेक अमेरिकी सरकारले ऋणको ब्याज तिर्न मात्रै करिब ११ खर्ब डलर खर्च गरिरहेको छ। ऋणको आकार र ब्याजदर दुवै बढ्दा ऋण सेवाको लागत पनि बढिरहेको छ।

सन् २०२५ को वित्तीय वर्षमा पहिलोपटक अमेरिकी सरकारी ऋणको ब्याज तिर्ने खर्च रक्षा मन्त्रालय (पेन्टागन) को बजेटभन्दा बढी भएको थियो।

सन् २०२६ को वित्तीय वर्षका पहिलो १० महिनामा ब्याज खर्च मेडिकेयरको स्वास्थ्यसम्बन्धी खर्चभन्दा पनि बढी पुगेको छ। सामाजिक सुरक्षा कार्यक्रमपछि ब्याज खर्च अहिले संघीय बजेटको दोस्रो ठूलो खर्च शीर्षक बनेको छ।

अमेरिकामा ‘बेबी बुम’ पुस्ता अवकाश र स्वास्थ्य सेवाको उमेरमा प्रवेश गर्दै जाँदा सामाजिक सुरक्षा र मेडिकेयरको खर्च थप बढिरहेको छ। तर त्यसका लागि आवश्यक पेरोल र आयकरबाट प्राप्त हुने राजस्वले संघीय सरकारको समग्र खर्च धान्न नसक्दा यी कार्यक्रमलाई वित्तीय दबाब थप बढ्दै गएको छ।

४०० खर्ब डलरको ऋणको नयाँ सीमा पार हुनु अमेरिकी अर्थतन्त्रमा तत्कालै संकट आएको संकेत नभए पनि लगातार बढिरहेको ऋण, उच्च ब्याज खर्च, बढ्दो सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा खर्च र कमजोर राजस्वबीच दीर्घकालीन वित्तीय दबाब गम्भीर बन्दै गएको संकेतका रूपमा हेरिएको छ।