भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले घर बहालमा दिने घरधनीलाई आफ्नो बहालमा बस्ने व्यक्तिको विवरण बुझाउन अनुरोध गरेको छ।
वडा कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै घर बहालमा दिने सबै घरधनीले बहालमा बस्ने व्यक्ति वा संस्थाको तीन पुस्ते विवरण ३५ दिनभित्र वडा कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको हो।
वडा अध्यक्ष राजकुमार जोशीद्वारा जारी सूचनामा भनिएको छ, “यस वडामा घर बनाई विभिन्न प्रयोजनमा आफ्नो घर बहालमा दिनु हुने घरधनीहरूले बहालमा बस्ने व्यक्ति वा संस्थाको तीन पुस्ते विवरण अनिवार्य रूपमा बुझाउन अनुरोध गरिन्छ।”
वडा कार्यालयले घरधनी तथा सरोकारवालासमक्ष समयमा नै विवरण उपलब्ध गराई सहयोग गर्न पनि आग्रह गरेको छ। जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको आगजनी र तोडफोडमा स्थानीय डेरावालको संलग्नता हुन सक्ने आशंकामा पहिचानको लागि यस्तो ब्यवस्था गर्न लागिएको वडा कार्यालय श्रोतले जनाएको छ ।
वडा अध्यक्ष जोशीले भने वडाको शान्ति सुरक्षा र सेवाप्रवाहलाई प्रभावकारी बनाउन डेरामा बस्नेहरूको तथ्यांक संकलन गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।








