
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले जेनजी आन्दोलनको बहानामा पाँंचतल्ले मन्दिर (ङातापोल)लाई ध्वस्त पार्ने षडयन्त्र गरिएको खुलासा गरे ।
गुन्हीपुन्ही सापारु अर्थात् गाइजात्रा- २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले भने, ” ङातापोललाई बमले उडाउने योजना पूर्व सूचना पाएपछि रोकियो ।”
यो षडयन्त्र आन्दोलनकारीले नभई घुसपैठ गरेका तत्वहरूले गरेका उनले अनुमान गरे । आन्दोलन वा विरोधका नाममा सम्पदामाथि प्रहार गर्ने प्रयासप्रति उनले आक्रोश पोखे ।
सम्पदामा क्षति र हानि नोक्सानी गर्न खोज्नेहरुबाट सचेत हुनुपर्ने बताउँदै उनले भने, “हाम्रो सम्पदा कला र संस्कृति नै हाम्रो पहिचान हो, यसको संरक्षण र प्रवर्धनमा हामी आफैं लाग्नुपर्छ।”
अध्यक्ष विजुक्छेले भक्तपुर नगरपालिकाले विदेशीको भरमा विकास गर्ने परनिर्भर सोच नराखेको प्रति सन्तोष ब्यक्त गरे । माग्ने प्रवृत्ति त्यागेर आफ्नै श्रोत र स्थानीयको सहयोगबाट सम्पदा संरक्षण गर्नु प्रशंसनीय भएको उनको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष विजुक्छेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले निस्वार्थ रुपमा जनताको सेवा गरिरहेका जिकिर गर्दै भक्तपुरका जनप्रतिनिधिबाट सबैले सिक्नुपर्ने सुझाव समेत दिए ।
उनले शासक दलहरुले देशमा जथाभावी गर्दा जनतामा असन्तुष्टि आएको उल्लेख गरे । देशमा व्याप्त भ्रष्टाचारले देशलाई झन् झन् आर्थिक रूपले कमजोर बनाउँदै लगेको बताउँदै उनले यसमा शासक दलहरु नै जिम्मेवार रहेका जिकिर गरे ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले कला संस्कृतिमार्फत पनि जनताको सेवा सम्भव छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले प्रस्तुत गर्दै आएको बताए ।
भक्तपुरको कला संस्कृति नेपालमा मात्र नभई विश्वमा चिरपरिचित रहेको बताउँदै उनले कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले उदाहरणीय काम गरिरहेको उल्लेख गरे ।
वर्तमान राजनीतिक घटनाक्रमको जिम्मेवार शासक दलहरू नै भएका उनको भनाइ छ । आफूहरुले सडक र सदनबाट पटकपटक खबरदारी गर्दा उल्टै आफूहरूलाई नेमकिपा यस्तै हो भनेर अनदेखा गरेको नतिजा दलहरूले भोगेका उनको भनाइ छ ।
सांसद गोसाईले विदेशी हस्तक्षेपबाट मुक्त हुन नेपाली युवाको बिदेश मोहलाई भङ्ग गर्नुपर्ने बिचार व्यक्त गरे । देशमा केही छैन र हुँदैन भन्ने भाष्य बनाएर युवा पलायन गराइएको र यसमा बिदेेशी चाल रहेको उनले बताएका छन् ।
देशमा राजनीति गर्नु हुँदैन भन्नेहरूबाट नै देशलाई खतरा हुने भन्दै उनले देशमा अशान्ति र अराजकता फैलाएर आफ्नो स्थार्थ सिद्ध गर्न खोज्नेहरुबाट सचेत रहनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रमका सभापति समेत रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको गाईजात्रा संसारकै उत्कृष्ट पर्वको रूपमा रहेको बताउँदै भक्तपुरका लोपोन्मुख नाचहरू उजागर गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितालाई जोड दिँदै आएको जानकारी गराए ।
सांस्कृतिक गुरु सम्मानले संस्कृतिकर्मीहरूमा उत्साह थप्ने काम भएको भन्दै उनले भक्तपुर नगर विदेशीको सहयोगले होइन आफ्नो स्वाभिमानले आत्मनिर्भर भएर अगाडि बढेको बताए ।
नयाँ पुस्तालाई सम्पदा संरक्षणको महत्व र कला संस्कृतिबारे अध्ययन अनुसन्धानको व्यवस्था गर्दै आएको बताउदै उनले नयाँ पुस्तालाई प्रशिक्षित गरी पुस्तान्तरण गर्ने काममा नगरपालिकाले सहजीकरण गर्दै आएको उल्लेख गरे ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई नाचगानको केन्द्रको रुपमा प्रस्तुत हर्ने योजन रहेको प्रष्ट पारिन् ।कार्यक्रममा पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले भक्तपुर कलाकृति र संस्कृतिले भरिएको नगर भएको बताउँदै यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणले इतिहास र भविस्य गोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुर नगरपालिकाले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान कायम गर्न उदाहरणीय कामहरू गर्दै आएको बताउँदै संस्कृतिक गुरुलाई सम्मान र नयाँ पुस्तालाई प्रतियोगितामार्फत पुरस्कारको ब्यवस्थाले सांस्कृतिक विविधतालाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
जेनजी आन्दोलनको क्रममा भक्तपुर नगरपालिकाको स्थानीय आन्दोलनमा सहभागी नहुनु सन्तोषजनक रहेको उनको भनाइ छ । उनले कुनैपनि आन्दोलनको नाममा ध्वंस र लुटपाट गर्नेलाई स्थानीय समुदायले एकतावद्ध भइ प्रतिकार गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरुको मूल्यांकनको समीक्षा गरेका थिए ।

यस वर्ष प्रत्येक वडाबाट एकजना सांस्कृतिक गुरुहरु गरी जम्मा दशलाई सम्मान गरिएको वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जनाएका छन् । यो वर्षको गुन्हीपुन्ही सापारुमा विविध विधाअन्तर्गत १ सय ४६ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएको उनले जानकारी गराए । ती मध्ये उत्कृष्ट समूह पुरस्कृत भएका थिए ।








