भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को चर्चित कृति ‘जेलका चिठीहरू’ को चिनियाँ भाषामा अनुवाद गरिएको संस्करण सार्वजनिक गरिएको छ।
बाल विकास इङ्लिस सेकेन्डरी स्कूलले आयोजना गरेको विशेष समारोहमा अध्यक्ष बिजुक्छेँले पुस्तकको विमोचन गरे।
विमोचनपछि बोल्दै अध्यक्ष बिजुक्छेँले पुस्तकको चिनियाँ अनुवादले चिनियाँ पाठकलाई नेपालका कला, संस्कृति, समाज र तत्कालीन जनजीवनलाई नजिकबाट बुझ्ने अवसर दिने बताए। उनका अनुसार चिनियाँ भाषामा नेपालबारे प्रकाशित पुस्तक कम भएकाले यो कृति दुई देशका जनताबीच सामाजिक र राजनीतिक समझदारी विस्तार गर्ने माध्यम बन्न सक्छ।
उनले आफूले तयार गरिरहेको ‘भियतनाम परिचय’ पुस्तकबारे पनि जानकारी दिए। उक्त पुस्तकमा आजको भियतनाम, हो चि मिन्ह, संसारकी पहिलो महिला सेना नेतृलगायत भियतनाम, लाओस र कम्बोडियासम्बन्धी सामग्री समेट्ने योजना रहेको बताए।
आफ्नो राजनीतिक जीवन स्मरण गर्दै बिजुक्छेँले जेल जीवन, भारत प्रवास र कम्युनिस्ट आन्दोलनका क्रममा गरेका साहित्यिक तथा वैचारिक योगदानबारे स्मरण गरे।
विभिन्न समयमा आफ्नै नाम प्रयोग गर्न नपाउँदा ‘हरिबहादुर श्रेष्ठ’, ‘रोहित’ र ‘रामबहादुर ज्यापू’ लगायतका उपनामबाट पुस्तक तथा लेख प्रकाशित गरेको अनुभव पनि उनले सुनाए।
भारत प्रवासको अन्तिम चरणमा पार्टीभित्रका त्रोत्स्कीवादी र आतङ्कवादी समूहको गोली प्रहारबाट आफू बाँच्न सफल भएको प्रसंगसमेत उनले उल्लेख गरे।
नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले ‘जेलका चिठीहरू’ सामान्य पाठकदेखि बौद्धिक समुदायसम्म रुचाइएको पुस्तक भएको बताए। चिनियाँ संस्करणले नेपाल र नेपाली संस्कृतिलाई चिनियाँ समाजसम्म पुर्याउने नयाँ झ्याल खोल्ने विश्वास उनले व्यक्त गरे।
चिनियाँ भाषा विशेषज्ञ डा. सर्वोत्तम श्रेष्ठले नेपाल र चीनबीच एकअर्काका २५–२५ वटा शास्त्रीय कृतिको अनुवाद गर्ने परियोजना चलिरहेको जानकारी दिए। उनले ‘जेलका चिठीहरू’ को चिनियाँ संस्करण नेपाली साहित्यलाई चिनियाँ पाठकमाझ पुर्याउने महत्वपूर्ण उपलब्धि भएको बताए।
नेपाली र चिनियाँ भाषा फरक भाषा परिवारका भएकाले अनुवाद निकै चुनौतीपूर्ण भए पनि दुई अनुवादकको संयुक्त प्रयासले गुणस्तरीय काम सम्भव भएको उनको भनाइ थियो।
चिनियाँ प्राध्यापक गु झिकाओले सानो जेलले मानिसको शरीरलाई मात्र सीमित गर्न सक्ने, तर स्वतन्त्र विचार र मानवताप्रतिको चिन्तनलाई कैद गर्न नसक्ने टिप्पणी गरे। उनले नेपाललाई शारीरिक श्रम गर्ने जनशक्तिमात्र नभई बौद्धिक जनशक्ति पनि आवश्यक रहेको उल्लेख गरे।
पुस्तककी सहअनुवादक चाङ होङवेइले ‘जेलका चिठीहरू’ अनुवाद गर्नु आफ्नो लागि भाषिक कामभन्दा बढी आत्मिक यात्राजस्तै भएको बताइन्। पुस्तकका प्रत्येक पत्रमा न्याय, लोकतन्त्र, परिवारप्रतिको माया, नेपाली संस्कृति, मानवता र कठिन परिस्थितिमा पनि आशा जीवित राख्ने प्रेरणा भेटिएको उनको अनुभव थियो।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले विद्यालयले शिक्षासँगै साहित्यिक र सामाजिक गतिविधिमार्फत पनि योगदान दिँदै आएको बताए।
चिनियाँ भाषामा पुस्तक प्रकाशनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने अभियानमा नयाँ आयाम थपेको उनको भनाइ थियो।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कन्फुसियस सेन्टरका निर्देशक डा. लि., सहअनुवादक प्रणय चित्रकार, सृष्टि प्रधान र सोफियाले पनि पुस्तकको महत्व र प्रकाशनको उद्देश्यबारे धारणा राखेका थिए।






