भक्तपुरमा १८ बालकको उद्धार, २२ वर्षिय युवक पक्राउ

भक्तपुर । सूर्यविनायक-८ आर्दशचोकस्थित हारती तरकारी बजार नजिकैबाट १८ जना बालकको उद्धार गरिएको छ । टनेलसंगै जस्ताको टहरामा अलपत्र अवस्थामा बालकहरु रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले आइतबार साँझ उनीहरूलाई उद्धार गरेको हो ।

बाराको जितपुरसिमरा-१६ तागिया बस्ती घर भएका २२ वर्षिय संचार गोलेलाई बालकहरुलाई ल्याई अलपत्र बनाएको आरोपमा जिल्ला प्रहरी बृत्त जगातीले नियन्त्रणमा लिएको छ । गोलेले बुद्ध धर्मसम्बन्धि शिक्षा दिने भन्दै बालकहरुलाई ल्याइराखेको प्रारम्भिक अनुसन्धानमा बताएका बृत्त प्रमुख रहेकी प्रहरी नायब उपरीक्षक चन्चला श्रेष्ठले जनाएकी छन् ।

आधिकारीक संस्था नखोली बालकलाई अलपत्र बनाइराख्ने कार्यमा अन्य कसैको संलग्नता भए नभएको लगायत घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रहरी सहायक निरीक्षक निर्मला कुमारी पोखरेलको कमाण्डमा खटिएको प्रहरी टोलिले बालकहरुलाई उद्धार गरी अस्थायी संरक्षणको लागि राष्ट्रिय अधिकारी परिषद श्रीमहल, पुल्चोक पठाएको बृत्त प्रमुख श्रेष्ठले बताएकी छन् ।

उद्धार गरिएका बालकहरुहरुमा मकवानपुरका ९ बर्षिय रेमन पाख्रिन, वर्ष १२ को सुजन थोकर,रमेश गोले, उदेप थोकर, नेपा थोकर, शिसान मगर र सर्केश थिङ छन् । वर्ष ५ को सोम बहादुर भोलोन र बर्ष १० का शौख भोलन समेत रहेका प्रहरीको भनाइ छ ।

त्यसैगरी, सिन्धुलीका ११ वर्षिय अभिषक  तामाङ, राजेश घलान, विकास घलान र वर्ष ९ को आकाश घलान र संदीप घलान छन् । सिन्धुपाल्चोक सुनखानीका ११ वर्षिय पेम्बा थिङ (तामाङ), बारा निजगढका अनिश वाइवा र रौतहटका ८ बर्षिय दोर्जे वाइवा रहेका प्रहरी श्रोतले जनाएको छ ।