भक्तपुर । सूर्यविनायक-९ भातेढिकुरमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका-५ घर भई भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीले छोराकै हातबाट ज्यान गुमाएकी छन् । शुक्रबार साँझ करिब पौने ८ बजेको समयमा २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरी ज्यान लिएका हुन् ।
छोराको कुटपिटबाट गम्भीर घाइते भएकी चौधरीको पाटन अस्पतालमा उपचारको क्रममा गएराति नै ज्यान गएको प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले पुष्टि गरे ।
मेघिया श्रीमान र छोरासहित भातेढिकुरमा बस्दै आएकी र घरायसी बिबादले हत्या जस्तो जघन्य अपराध निम्त्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताए । प्रहरी उपरीक्षक खड्काले जनाए अनुसार कुटपिटबाट मेघियाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।
कुटपिटमा संलग्न किरणलाई घटना लगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी बृत्त जगातीले जनाएको छ ।







