काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले रसुवा–केरुङ विपदबाट पाठ सिक्दै उच्च हिमाली क्षेत्रको सम्भावित विपद्ब बाट बच्न जलवायु बित्तको ब्यवस्था गर्नुपर्ने बताए । जलवायु परिवर्तनबाट हुने क्षति रोक्न वा त्यससँग जुध्न आवश्यक पर्ने लगानी सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।
काठमाडौंमा सम्पन्न रसुवा–केरुङ विपद्बाट सिकाइ तथा उच्च हिमाली क्षेत्रमा श्रृंखलाबद्ध जोखिमको पूर्वतयारीसम्बन्धी गोलमेच छलफलमा राजदूत खानले जोखिम न्यूनीकरणका लागि जलवायु वित्तसंगै क्षेत्रीय सहकार्यमा पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
” विपद्पछिको पुनर्निर्माणलाई दिगो र उत्थानशील बनाउन जलवायु वित्तको सुनिश्चितता, क्षेत्रीय सहकार्य र प्रभावकारी विपद् पूर्वतयारी आवश्यक छ ।” उनले भने ।
खानले छलफल आयोजना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आईसीआईएमओडी), राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) र नेपालका लागि स्विट्जरल्यान्डका राजदूतको प्रशंसा समेत गरे ।
विपद्को निगरानी, पूर्वसूचना र प्रतिकार्य प्रणालीमा रहेका कमजोरी पहिचान गरी आगामी दिनका लागि संयुक्त कार्ययोजना तयार गर्नु छलफलको उदेश्य रहेको आईसीआईएमओडीले जनाएको छ।
I






