काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारमध्ये १३ जनाको शव शुक्रबार फेला परेको छ ।
नेपाली सेनाका अनुसार खोजी तथा उद्धारका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट एकैदिन १३ वटा शव निकालिएको हो ।
बाढीका कारण आयोजनाको निर्माणाधीन संरचना तथा सुरुङमा ठूलो क्षति पुगेपछि नेपाली सेना, आयोजना प्रतिनिधिलगायतको संयुक्त टोलीले निरन्तर खोजी गरिरहेको छ । खोजीका क्रममा सुरुङभित्र ढलानका लागि तयार गरिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा बिहान ६ वटा शव फेला परेका थिए ।
त्यसपछि खोजी कार्यलाई निरन्तरता दिँदा थप ७ वटा शव भेटिएका थिए । सेनाका अनुसार ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट शवहरू बाहिर निकालिएको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका थिए ।
आयोजनाका अनुसार बाढी आउनुअघि त्यहाँ १ हजार ४३३ जना कामदार कार्यरत थिए । तीमध्ये ९३६ जना सम्पर्कमा आएका छन् भने ४९२ जना अझै सम्पर्कविहीन रहेको सेनाले जनाएको छ ।
सम्पर्कविहीन कामदारको खोजीका लागि सुरुङ तथा आयोजनाका विभिन्न संरचनामा उद्धार टोली परिचालन गरिएको छ । बाढीले सुरुङ तथा आयोजनाका संरचनामा पुर्याएको क्षतिका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।
यसैबीच त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा निर्माणस्थलमा फसेका कामदारको अवस्था यकिन गर्न सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजीलाई तीव्रता दिएका छन् । पछिल्लो पटक माथिल्लो त्रिशूली–१ को सुरुङबाट १३ शव भेटिएसँगै बाढीमा परेकाहरूको खोजी थप गम्भीर बनेको छ ।






