
भक्तपुर । भक्तपुर-२ का उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका उनले सोमबार मध्यपुर थिमि-२ को दुईपोखरीमा आयोजित पत्रकार सम्मेलनमा सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य चुनावी एजेन्डाको रुपमा अघि सारे ।
उनले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै अब पर्यटनमैत्री पूर्वाधार विकास, व्यवस्थित प्रचारप्रसार र निजी क्षेत्रसँग सहकार्य गर्दै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरिने बताए ।
पर्यटनलाई स्थानीय उत्पादन, हस्तकला र होमस्टेसँग जोडेर रोजगारी तथा आयआर्जनको दायरा विस्तार गर्ने योजना उनले अघि सारेका छन् ।
पर्यटनसँगै स्थानीय पहिचान बोकेको ‘ऐला’लाई ब्रान्डका रूपमा विकास गर्ने उनले बताए। परम्परागत घरेलु उत्पादनलाई उद्योगमा रूपान्तरण गर्दै विदेशी मदिरा प्रतिस्थापन गर्ने नीति ल्याइने र दीर्घकालमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिने उनको लक्ष्य छ।
कृषि क्षेत्रलाई पर्यटनसँग समन्वय गर्दै तरकारी उत्पादनका पुराना केन्द्रहरूलाई पुनर्जीवित गर्ने प्रतिबद्धता पनि उनले प्रकट गरे।
किसानलाई तालिम, आधुनिक प्रविधि, शीत भण्डार र बजार सुनिश्चिततामार्फत सशक्त बनाइने उनले बताए।
युवा तथा विद्यार्थीलाई सूचना प्रविधिमैत्री बनाउँदै स्टार्टअप र आईटी हब स्थापना गरिने, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरिने र सीपमूलक तालिममार्फत रोजगार र स्वरोजगारका अवसर सिर्जना गरिने योजना प्रस्तुत उनले प्रस्तुत गरे ।
स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत सेवा उपलब्ध गराउने, नसर्ने रोगको नियमित परीक्षण र बीमा योजनालाई प्रभावकारी बनाउने उनले प्रतिबद्धता जनाएका छन् ।
नगर अस्पतालको स्तरोन्नति तथा भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि पहल गरिने उनले उल्लेख गरे। साथै, खेलकुद पूर्वाधार विकास र खेलाडी प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिने बताए ।
अव्यावहारिक सपना नदेखाउने उल्लेख गर्दै उनले सहज खानेपानी, समयमै चल्ने सार्वजनिक यातायात र स्वच्छ वातावरण निर्माणलाई व्यावहारिक लक्ष्यका रूपमा अघि सारे। सडक सरसफाइ र हरियाली विस्तारलाई अभियानकै रूपमा अघि बढाइने उनको भनाइ छ।
सुशासनलाई मूल आधार मान्दै उनले प्रशासनिक ढिलासुस्ती अन्त्य, भ्रष्टाचार नियन्त्रण र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्ने अठोट व्यक्त गरे।
स्थानीय तहमा प्रभावकारी गुनासो सुनुवाइ संयन्त्र स्थापना तथा भूमि व्यवस्थासम्बन्धी सेवाहरूलाई स्थानीय तह मातहत ल्याउन पहल गरिने उनले बताए। त्यसैगरी उनले स्थानीय अदालत स्थापना र सर्वसुलभ तथा छिटो न्यायको आधार बनाउन कानुनी ब्यवस्थामा जोड दिए ।
भयमुक्त समाज निर्माण, गुण्डागर्दी नियन्त्रण र राजनीतिक आधारमा हुने विभेद अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले “जनप्रतिनिधि जनताको सेवक हो” भन्ने मान्यता व्यवहारमै उतार्ने दाबी गरे।
खेलकुद, सरसफाइ, हरियाली प्रवर्द्धन र स्वस्थ जीवनशैलीमा जोड दिदै उनले ” हामी भेटिन्छौं, सुन्छौं र गर्छौं ” भन्ने प्रतिवद्धता प्रकट गर्दै जनताको सेवक भएर असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन् ।
पत्रकार सम्मेलनमा नेकपाका समानुपातिक उम्मेदवार दिलिप प्रजापति भीष्म, बागमती प्रदेश सरकारका पूर्वमन्त्री डा राजेन्द्रमान श्रेष्ठ र सो पार्टीका नेता श्याम बस्नेत र निर्मल ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
भक्तपुर-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ उम्मेदवार रहेका छन् ।







