भक्तपुर । सूर्यविनायक नगरपालिका–४ स्थित ईडेन गार्डेन इङ्लिस स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीहरूको वाककला, तार्किक क्षमता र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रतिभाशाली छात्रछात्राले प्रभावशाली प्रस्तुति दिएका थिए।
कक्षा ५ तर्फ “शिक्षा नै उज्यालो भविष्यको आधार” शीर्षकमा भएको प्रतिस्पर्धामा युनिटी इङ्लिस स्कुलका हिमांशु भट्ट प्रथम भए।
मदरल्याण्ड स्कुलकी कृष्टिका भण्डारी दोस्रो, ग्लिटर फ्युचरकी स्पर्श थापा मगर तेस्रो र ऋतम्भरा पाठशालाकी जस्मिन अछामी सान्त्वना स्थानमा रहे।
कक्षा ४ तर्फ “स्वच्छ वातावरण, स्वस्थ जीवन” विषयमा प्रतिस्पर्धा भयो। मदरल्याण्ड स्कुलका जेसिक नेपाल प्रथम घोषित भए।
पारिजात विद्या कुञ्जकी सबिना नायजु दोस्रो र आरक्षण नेसनल एकेडेमीकी आजुनी सुवेदी तेस्रो भइन्। संस्कार गुरुकुलका भाव्या आचार्य र क्वालिटी इङ्लिस स्कुलकी राज्वी लामिछानेले सान्त्वना स्थान हात पारे।
ईडेन गार्डेन स्कुलका प्रिन्सिपल जय प्रकाश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ३ का अध्यक्ष दीपेन्द्र केसी प्रमुख अतिथि थिए। उनले विजेता विद्यार्थीलाई मेडल तथा ट्रफी वितरण गर्दै विद्यार्थीहरूको आत्मविश्वास र अभिव्यक्तिको खुलेर प्रशंसा गरे।
प्रतियोगिताको मूल्याङ्कन जीवनाथ अधिकारी र मधुसुदन न्यौपानेले गरेका थिए। उनीहरूले प्रस्तुति, भाषा, विषयवस्तुको स्पष्टता र तार्किकताको आधारमा नतिजा सार्वजनिक गरेका थिए।
कार्यक्रम सफल बनाउन ईडेन गार्डेन इङ्लिस स्कुलले सक्रिय व्यवस्थापन गरेको नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले बताए ।नेसनल प्याव्सनले बिबिध अतिरिक्त क्रियाकलापलाई अघि बढाइरहेको र यसले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरे ।







