चार वर्षमा बदलिँदो मध्यपुर थिमि : राजस्व वृद्धि, पूर्वाधार विस्तार र सेवा सुधार

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले पछिल्लो चार वर्षमा करको दर नबढाई आन्तरिक राजस्व ९३.३९ प्रतिशतले वृद्धि गर्नुका साथै सडक, ढल, पुल, सार्वजनिक भवन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र पर्यटनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ।

क्रियाशील पत्रकार मञ्च भक्तपुरले शुक्रबार आयोजना गरेको ‘मध्यपुर थिमि नगरपालिकाको चार वर्षे विकास र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सुशासन, पारदर्शिता र सहभागितामूलक विकासलाई केन्द्रमा राखेर काम गर्दा नगरपालिकाले अपेक्षाभन्दा राम्रो उपलब्धि हासिल गरेको बताए। कुनै पनि करको दर नबढाई आन्तरिक राजस्वमा ९३.३९ प्रतिशत वृद्धि भएको उल्लेख गर्दै उनले प्रभावकारी राजस्व व्यवस्थापन र करको दायरा विस्तारका कारण आम्दानी बढेको दाबी गरे।

श्रेष्ठले चार वर्षमा ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए। सडक विस्तार, ढल, पुल, सार्वजनिक भवन, खुला क्षेत्र संरक्षण, नीलबाराही क्षेत्र संरक्षण, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा रोजगारी सिर्जनामा नगरपालिकाले प्राथमिकताका साथ लगानी गरेको उनले बताए। समस्याग्रस्त कृषि बचत तथा ऋण सहकारी संस्थाका ५१२ बचतकर्तालाई ५२ लाख ४० हजार रुपैयाँ फिर्ता गरिएको पनि उनले उल्लेख गरे।

नगरपालिकाका अनुसार चार वर्षमा सडक स्तरोन्नति, कालोपत्रे, ढल निर्माण, सडक विस्तार तथा पुल निर्माणलाई तीव्रता दिइएको छ। वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक भवनको निर्माण र स्तरोन्नतिसँगै सम्पदा संरक्षण तथा पर्यटकमैत्री पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको जनाइएको छ।

नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्ष २०८३/८४ को दुई अर्ब ७१ करोड रुपैयाँ बजेट शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित गरिएको बताए। नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगर अस्पतालबाट दैनिक करिब १२ सय बिरामीले सेवा लिइरहेको र निर्माणाधीन नयाँ भवन सञ्चालनमा आएपछि विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिने उनले जानकारी दिए। स्वास्थ्य बिमा कार्यक्रमको रकम समयमै प्राप्त नभए पनि देशभरबाट आउने सेवाग्राहीलाई सेवा दिन कुनै कमी हुन नदिइएको उनले स्पष्ट पारे।

प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले विगत चार वर्षमा बजेट कार्यान्वयन, विकास आयोजना र सेवा प्रवाहमा उल्लेखनीय सुधार भएको बताए। जनप्रतिनिधिको कार्यकालको अन्तिम वर्षमा पनि नागरिकको आवश्यकता र अपेक्षाअनुसार परिणाममुखी योजना सम्पन्न गर्न प्रशासन प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

कार्यक्रमका सभापति तथा क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले स्थानीय सरकारका विकास गतिविधि नागरिकसम्म सही ढंगले पुग्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताए। 

अन्तरक्रियामा प्रस्तुत विवरणले नगरपालिकाले राजस्व वृद्धि, पूर्वाधार विस्तार, स्वास्थ्य सेवा, शिक्षा, सम्पदा संरक्षण र सुशासनलाई चार वर्षे कार्यकालका प्रमुख उपलब्धिका रूपमा अघि सारेको देखाएको छ। अब ती योजनाको दिगोपना, गुणस्तर र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणामले नै नगरपालिकाको विकास दाबीको वास्तविक मूल्यांकन गर्नेछ।