सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले घोषणापत्र सार्वजनिक गर्दै समाजवादी विचारलाई जनतामाझ पुर्याउने अभियानलाई ब्यापक बनाउने बताए।

निर्वाचन सत्तामा पुग्ने भर्याङ मात्र नभई जनतालाई राजनीतिक र सैद्धान्तिक रूपमा सचेत बनाउने अवसर पनि भएको उनको भनाइ छ ।

संसद्को मूल दायित्व प्रधानमन्त्री केन्द्रित राजनीति होइन भन्दै आवश्यक ऐन–कानुन निर्माण र जनताको पिरमर्का सम्बोधन गर्नुपर्ने उनले प्रस्तावित पारे । पार्टीले क्रान्तिकारी संसदवादलाई व्यवहारमा उतार्ने उनले दाबी पनि गरे।

अध्यक्ष बिजुक्छेँले घोषणापत्र अध्ययन नगरी अन्ध समर्थनमा मतदान गर्दा जनताले पुनः निराशा भोग्नुपर्ने चेतावनी दिए। उनले प्रतिबद्धता कार्यान्वयन नगर्ने दललाई मत नदिन आग्रह गर्दै इमानदार र निःस्वार्थ सेवामा प्रतिबद्ध शक्तिलाई साथ दिनुपर्ने बताए।

बहुमतको नाममा सरकारले जे पनि गर्न नपाउने उल्लेख गर्दै विगतमा सत्तामा पुगेका दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए।

पत्रकारसँगको संवादमा उनले भूमिसुधार, समान अवसर, योग्यताअनुसार काम र कामअनुसारको ज्याला जस्ता विषयमा सरकार असफल भएको टिप्पणी गरे। राजधानी काठमाडौँलाई सांस्कृतिक नगरका रूपमा विकास गर्नुपर्ने र देशको सन्तुलित विकास अपरिहार्य रहेको उनको भनाइ थियो। निर्वाचित जनप्रतिनिधि आफ्नै जिल्लामा बसेर सेवा गरे मात्र वास्तविक उत्तरदायित्व स्थापित हुने उनले जोड दिए।

कार्यक्रममा पार्टी सचिव प्रेम सुवाल ले घोषणापत्रका मुख्य बुँदा प्रस्तुत गर्दै नेमकिपाले स्थापना कालदेखि किसान आन्दोलन, सार्वभौमिकता रक्षा र साम्राज्यवादविरोधी अभियानमा नेतृत्व गर्दै आएको बताए।

प्रजातन्त्रलाई जीवनपद्धति रूपमा व्याख्या गर्दै उनले सत्ता र पैसाको दुरूपयोगबाट लोकतन्त्र कमजोर भएको आरोप लगाए।

सुवालले नागरिकता नीतिमा कडाइ, दुर्गम क्षेत्रमा रोपवे, सुरुङमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास, तथा भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण र कडा सजायको कानुनी व्यवस्था आवश्यक रहेको दोहोर्‍याए।

संसद्को केन्द्र प्रधानमन्त्री नभई नीति निर्माण हुनुपर्ने धारणा पनि उनले राखे।

केन्द्रीय सदस्य अनुराधा थापामगर ले जनतालाई आश्वासनको राजनीतिभन्दा सिद्धान्त र संघर्षको पक्षमा उभिन आह्वान गरिन्।

यस्तै, केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले निर्वाचनलाई समाजवादी गणतन्त्रको प्रचार अभियानका रूपमा अघि बढाइने उल्लेख गर्दै देशभक्ति, भ्रष्टाचारविरोध र सार्वभौमिकताको पक्षमा उभिने शक्तिलाई समर्थन गर्न आग्रह गरे।

नेमकिपाले यस निर्वाचनमा आफ्नो पार्टीलाई उल्लेख्य मत प्राप्त हुनु आमूल परिवर्तनतर्फको संकेत हुने दाबी गर्दै संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहने प्रतिबद्धता दोहोर्‍याएको छ।