काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा सञ्चालन भएको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पाकिस्तान-नेपालमैत्री टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत ११औं संस्करणको फाइनल खेल तथा समापन समारोह आज आइतबार काठमाडौंमा सम्पन्न भएको हो ।
फेब्रुअरी ७ देखि १५ सम्म सञ्चालन भएको प्रतियोगितामा पाकिस्तान दूतावास टोलीसहित नेपालका विभिन्न क्लबका गरी १२ टोलीको सहभागिता रहेको थियो।
सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता क्रिकेटप्रतिको साझा मोहलाई सुदृढ गर्दै दुवै देशका युवाहरूको खेलकौशल अभिवृद्धि गर्ने उद्देश्यले वार्षिक रूपमा हुँदै आएको छ।
फाइनलमा बालुवाटार क्रिकेट एकेडेमी विजेता बन्दै ट्रफी र नगद पुरस्कार हात पार्न सफल भयो भने पाकिस्तान दूतावास टोली उपविजेतामा सीमित रह्यो।
समापन समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार अच हास्मीले विशेष अतिथिहरूसँगै विजेता टोली, उत्कृष्ट खेलाडी र प्रतियोगिता पदाधिकारीहरूलाई ट्रफी, पदक तथा नगद पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा बंगलादेश र चीनका राजदूत, सार्कका महासचिव, मलेसियाका कार्यवाहक राजदूत, नेपाल क्रिकेट संघका वर्तमान तथा पूर्व पदाधिकारी, पाकिस्तान-नेपाल एलुम्नाइ नेटवर्क, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ, नेपाल–पाकिस्तान युवा परिषद्का प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, पाकिस्तानी समुदाय तथा दूतावासका अधिकारी र परिवारजनको उपस्थिति रहेको थियो।
प्रतियोगिताको गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै अघिल्ला संस्करणमा सहभागी भई हाल नेपालका राष्ट्रियस्तरका टोलीसम्म पुगेका सात जना नेपाली क्रिकेटरलाई विशेष सम्मान गरिएको थियो।
राजनीतिक तथा शिक्षा परामर्शदाता इक़बाल हैदरले क्रिकेट प्रवर्द्धन गर्न दूतावासले निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै प्रतियोगिताले नयाँ प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेलेको बताए।
समापन मन्तव्यका क्रममा राजदूत हाश्मीले युवाहरूबीच खेलकुद आदान–प्रदानमार्फत दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याउँदै सन् २०२७ मा हुने १२औं संस्करणमा १६ टोलीको सहभागिता गराइने घोषणा गरे।
साथै, उनले विजेता टोलीसहित सबै सहभागीलाई बधाई दिँदै सहयोगी साझेदार आईएमई ग्लोबल बैंक र फिल्ली क्याफे तथा प्रत्यक्ष प्रसारण साझेदार एक्शन टिभी र डिश होम मिडिया नेटवर्कप्रति आभार व्यक्त गरे।
प्रतियोगिताले नेपाल–पाकिस्तान मैत्री सम्बन्धलाई खेलकुदमार्फत अझ प्रगाढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।



