भक्तपुर । स्थानीय तहले सञ्चालन गरेको अस्पतालले पनि गुणस्तरीय, भरपर्दो र विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्छ भन्ने उदाहरण बनेको छ, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल। सेवा विस्तार, आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र सातै दिन नियमित उपचार सेवाका कारण अस्पतालप्रति जनविश्वास निरन्तर बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले भक्तपुरसहित देशका ७४ जिल्लाका ३ लाख २७ हजार ३१८ बिरामीलाई उपचार सेवा प्रदान गरेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा करिब १३.३ प्रतिशत बढी हो।
देशका अधिकांश सरकारी अस्पताल दुई दिन सार्वजनिक बिदामा बन्द हुने अवस्थामा ख्वप अस्पतालले भने वर्षका ३६५ दिन सेवा सञ्चालन गर्दै बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ। यसले भक्तपुर मात्र होइन, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका र अन्य जिल्लाका नागरिकसमेत लाभान्वित भएका छन्।
अस्पतालले हाल ओपीडी, आकस्मिक उपचार, प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, मातृ तथा शिशु स्वास्थ्य, खोप, स्वास्थ्य परामर्श तथा बालरोग, हाडजोर्नी, नाक–कान–घाँटी, मुटुरोग, न्युरोसर्जरी, युरोलोजी, नेफ्रोलोजी, मानसिक रोग, स्त्री तथा प्रसूति, छाला, दन्त, जनरल सर्जरीलगायत विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।
हाल अस्पतालमा २०१ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्। तीमध्ये ४७ विशेषज्ञ चिकित्सक, २७ मेडिकल अफिसर, ३ दन्त चिकित्सक, ८० स्टाफ नर्स र ४४ प्यारामेडिक्स छन्।
आधुनिक उपकरण र विशेषज्ञ सेवामा विस्तार
गत आर्थिक वर्षमा अस्पतालबाट १ लाख २७ हजारभन्दा बढी प्रयोगशाला परीक्षण, ४२ हजार ९४२ एक्स–रे, २७ हजार ४३४ भिडियो एक्स–रे, १४ हजार ६२७ ईसीजी, ४ हजार ५३४ इको तथा ८३० सिटी स्क्यान सेवा प्रदान गरिएको छ।
अस्पतालले २०८२ माघदेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको हो। वाग्मती प्रदेश सरकारको ५ करोड र भक्तपुर नगरपालिकाको करिब ६ करोड रुपैयाँ लगानीमा सुरु भएको यो सेवाले जटिल रोगको पहिचान र उपचारलाई थप सहज बनाएको छ।
तीन हजारभन्दा बढी शल्यक्रिया, सुरक्षित मातृत्वमा जोड
एक वर्षमा अस्पतालमा २ हजार ९२९ वटा शल्यक्रिया सम्पन्न भएका छन्। त्यसमध्ये १ हजार ५३८ मेजर, १ हजार ७२ माइनर तथा ५०६ ल्याप्रोस्कोपिक शल्यक्रिया रहेका छन्।
प्रसूति सेवाअन्तर्गत १७७ सामान्य प्रसूति र ३५१ सिजेरियन प्रसूति सम्पन्न भएका छन्। सुरक्षित मातृत्व कार्यक्रमबाट ७२६ गर्भवती तथा सुत्केरी महिला लाभान्वित भएका छन्।
१६ हजार बढी अक्सिजन सिलिन्डर, नगरवासीलाई निःशुल्क रगत
अस्पतालले गत वर्ष १६ हजार ३३२ अक्सिजन सिलिन्डर वितरण तथा उपयोग गरेको छ। भक्तपुर नगरपालिकाले नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई २७ लाख ४९ हजार रुपैयाँभन्दा बढी उपलब्ध गराइएको छ।
घरदैलोमै स्वास्थ्य सेवा
नगरपालिकाले सञ्चालन गरेको घरदैलो नर्सिङ सेवा अन्तर्गत गत वर्ष २८ हजार ६० घरधुरीमा स्वास्थ्य सेवा पुगेको छ। यसबाट ५४ हजार १८७ नागरिक लाभान्वित भएका छन्।
प्रतिवेदनअनुसार समुदायमा उच्च रक्तचाप, मधुमेह, नसासम्बन्धी रोग, दम, थाइराइड र कोलेस्ट्रोलका बिरामी बढी देखिएका छन्। त्यसका आधारमा वर्षभरि विभिन्न स्वास्थ्य सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ।
आँखा उपचारमा पनि उल्लेखनीय उपलब्धि
भक्तपुर नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालित ख्वप–तिलगङ्गा आँखा अस्पतालले एक वर्षमा ३१ हजार ५५७ जनालाई आँखा परीक्षण तथा ८२३ जनाको मोतिबिन्दुको शल्यक्रिया गरेको छ। रेटिना, जलबिन्दु, बाल आँखा रोगलगायत विशेषज्ञ सेवा नियमित सञ्चालनमा छन्।
सेवाग्राहीको विश्वास, सुधारका सुझाव पनि
अस्पताल सातै दिन सञ्चालन हुने, स्वास्थ्य बीमामार्फत सेवा उपलब्ध हुने, विशेषज्ञ सेवा बढेको र उपचार प्रभावकारी भएको भन्दै अधिकांश सेवाग्राहीले सकारात्मक प्रतिक्रिया दिएका छन्। यद्यपि टिकट वितरण, लाइन व्यवस्थापन, औषधि उपलब्धता, ज्येष्ठ नागरिकलाई प्राथमिकता तथा कर्मचारीको सेवामैत्री व्यवहारमा थप सुधार आवश्यक रहेको सुझाव दिएका छन्।
एमआरआई, आईसीयू र एनआईसीयुको तयारी
अस्पतालले आगामी आर्थिक वर्षमा एमआरआई सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सञ्चालन गर्ने, वडा नं. ७ मा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने, वडा नं. १ को स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने तथा विशेषज्ञ चिकित्सकको संख्या बढाउने योजना अघि सारेको छ।
सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग र समुदायमै गुणस्तरीय उपचार उपलब्ध गराउने अभियानका कारण ख्वप अस्पताल अहिले भक्तपुर मात्र होइन, देशभरका बिरामीको रोजाइ बन्दै गएको छ। स्थानीय सरकारद्वारा सञ्चालित स्वास्थ्य संस्थाले प्रभावकारी सेवा दिन सक्ने सफल नमुनाका रूपमा ख्वप अस्पताल स्थापित हुँदै गएको देखिन्छ।
अस्पतालका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले नगरपालिकाले त्यसलाई उच्च प्राथमिकतामा राखेको बताए। “नागरिकले आफ्नै नगरभित्र गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हाम्रो मान्यता र प्रतिबद्धता हो।” उनले भने, “ख्वप अस्पताललाई देशकै नमुना स्थानीय अस्पतालका रूपमा स्थापित गर्ने दिशामा हामी लागिरहेका छौं ।”







