ईभी अनियन्त्रित हुँदा ८ सवारीमा क्षती : चालकको मृत्यु, सात घाइते

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्त महाराजगञ्ज अगाडि बिहीबार साँझ ईभी माइक्रो अनियन्त्रित भई एकपछि अर्को सवारीसाधनलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार साँझ करिब सबा ७ बजे बसुन्धराबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको ईभी माइक्रोले अगाडि रहेका सवारीसाधनहरूलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा माइक्रो चालक लमजुङ सिद्धी गाउँपालिका–५ का ५६ वर्षीय रामकृष्ण हवाल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा राति सबा ८ बजे त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा  ठक्कर खाएका स्कुटी, मोटरसाइकल, बस र ट्याक्सीमा सवार सात जना घाइते भएका छन्। घाइतेहरूको त्रिवि शिक्षण अस्पताल र मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।