सर्पदंश बढेपछि विद्यालयमै सचेतना अभियान

रूपन्देही। पछिल्लो समय रूपन्देही जिल्लामा सर्पदंशका घटनाहरू बढ्दै गएपछि विद्यालयस्तरबाटै जनचेतना फैलाउने अभियान सुरु गरिएको छ।

धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नवीन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पदंशबाट बच्ने उपाय तथा सर्प संरक्षणसम्बन्धी समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका हुन्।

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई विषालु र अविषालु सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणको महत्वबारे वैज्ञानिक जानकारी प्रदान गरिएको छ।

अभियन्ताहरूले समाजमा सर्पप्रति रहेका भ्रम र अन्धविश्वास हटाई सही सूचना प्रवाह गर्नु आवश्यक रहेको बताएका छन्। उनीहरूले सर्पलाई अनावश्यक रूपमा मार्ने प्रवृत्ति अन्त्य गर्दै मानव सुरक्षा र जैविक विविधता संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन्।

आयोजकका अनुसार विद्यालयस्तरबाट सचेतना फैलाउँदा विद्यार्थीमार्फत समुदायसम्म सही जानकारी पुग्ने विश्वास गरिएको छ। त्यसैले आगामी दिनमा रूपन्देहीका थप विद्यालय तथा समुदायमा समेत यस्ता कार्यक्रम विस्तार गरिने योजना रहेको जनाइएको छ।

रूपन्देहीमा पछिल्ला वर्षहरूमा सर्पदंशका घटना बढ्दै गएकाले समयमै जनचेतना अभिवृद्धि गर्न सकिए मानवीय क्षति न्यूनीकरणका साथै सर्प संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

rudra gan
rudra gan