भक्तपुर भ्रष्टाचारमुक्त : बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें रोहितले भक्तपुर नगरपालिका देशकै एकमात्र भ्रष्टाचारमुक्त पालिका भएको दावी गरेका छन् । सोमबार भक्तपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष विजुक्छेंले भने, ”नेमकिपाको नेतृत्व भएकोले भक्तपुर नगरपालिकामा एकपैसा पनि घुसको लेनदेन हुँंदैन ।”

आफ्नो पार्टीको नेतृत्व निर्वाचित भएकोले भक्तपुरमा भ्रष्टाचार नभएको उनको भनाइ छ । तर, भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय संचालन गर्न नदिएकोमा उनले असन्तुष्टि व्यक्त गरे । उनले अन्य पाठ्यक्रमलाई बहिस्कार गरी घरघरमा ख्वप विश्वविद्यालयको कक्षा संचालन गरिने चेतावनी समेत दिएका छन् ।

संविधान सभा सदस्य समेत रहेका अध्यक्ष बिजुक्छेंले संविधान शंसोधन गरी भ्रष्टाचारीलाई मृत्युदण्डको सजायँं दिन नेमकिपाले निर्वाचन जित्नुपर्नेमा जोड दिए । ” भ्रष्टाचारीलाई मृत्युदण्ड र सम्पती जफत गर्नसके भ्रष्टाचार नियन्त्रण हुन्छ ।” उनले भने, ”भ्रष्टाचार नियन्त्रण भएपछि मात्र देश र जनताको भलो हुन्छ ।”

नेमकिपा मन्त्री, प्रधानमन्त्री बन्नको लागि निर्वाचनमा सहभागी नभएको भन्दै उनले सशक्त प्रतिपक्षी रही जनताको आवाज उठाइरहने र समस्या समाधानको पहल गरिरहने पार्टी नेमकिपा मात्र भएको स्पष्ट पारे । दलहरु बिचार र सिद्धान्तसहित जनतामा जानुपर्नेमा जोड दिंदै उनले भने, ”नेमकिपा व्यक्ति धनी भएर देश धनी हुने कुरा मान्दैन, जनता धनी भए मात्र देश धनी हुँने सिद्धान्तमा विश्वास गर्दछ ।”

उनले जनतालाई नेमकिपाबारे बुझाउन नसकेको स्वीकार गर्दै हाहा हुहु गर्नेहरुले जनतालाई भ्रम र त्रास देखाईरहेका दावी गरे । अध्यक्ष बिजुक्छेंले बौद्धिक वर्गले सही राजनीतिक पक्षधरता लिनपर्ने र जनतालाई सुसूचित पार्नुपर्ने सुझाव दिएका छन् । बैदेशिक हस्तक्षेपको बिरुद्ध नेमकिपा अडिग रहेको र बिदेशी पूजी ल्याएर स्वदेशी पूजीलाई नाग्लो पसलमा परिणत गर्न नहुने लगायतका बिषयमा नेमकिपाको स्पष्ट धारणा रहेको उल्लेख गर्दै उनले भने, ” नेमकिपा एकथोक बोल्ने र अर्को थोक गर्ने पार्टी होइन ।

सो अवसरमा पार्टी सचिव एवं भक्तपुर-१ का उम्मेदवार प्रेम सुवालले वडा सदस्यको काम समेत आफूले गर्ने नभन्ने बताए । प्रतिनिधि सभा नीति, नियम, कानुन, सन्धी सम्झौता र जनताको समस्याबारे छलफल गर्ने थलो भएको र त्यसको लागि आफू योग्य रहेको उनले दावी गरे ।

कार्यक्रममा भक्तपुर अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले बिदेशी सामु घुडा टेकेर शासक दलहरुले नेपाली सार्वाभौमैकतामा आँच पुर्याएका आरोप लगाउदै देशभक्तहरुले नेमकिपा रोज्नुपर्नेमा जोड दिए ।

नेमकिपाले भक्तपुर -१ मा प्रेम सुवाल र भक्तपुर-२ मा रमेश बैद्यलाई उम्मेदवार बनाएको छ । २०४८ देखि लगातार पाँच पटक नेमकिपा अध्यक्ष बिजुक्छेंले जित हासिल गरेका भक्तपुर-१ मा सचिव सुवाल यसपटक ह्याट्रिक गर्ने तयारीमा छन् । यहाँ १६ दल र स्वतन्त्र गरी २५ उम्मेदवार छन् । भक्तपुर २ मा भने २०६४ मा सुनिल प्रजापति निर्वाचित भए यता नेमकिपाले जित हात पार्न सकेको छैन । यहाँ नेमकिपाका उम्मेदवार बैद्य संगै १७ दल र स्वतन्त्र गरी ३२ उम्मेदवार छन् । भक्तपुरसंगै देशभर प्रत्यक्षतर्फ १ सय २० क्षेत्रमा नेमकिपाका उम्मेदवार रहेका छन् ।